चितवन विशेष

चितवनको माडीमा पार्टी प्यालेसमा विवाह गर्न रोक, १०१ भन्दा बढी दक्षिणा दिन नपाइने

०
Banner

प्रिति पोखरेल

चितवन, साउन २१

माडी नगरपालिकाले दक्षिणा १०१ रुपैयाँ लागू गर्ने गरी योजना अघि सारेको छ ।

आज बसेको दास्रो कार्यपालिका बैठकले सामाजिक तथा सांस्कृतिक संस्कार अनुरुप सो योजना ल्याएको हो । बैठकले विवाह, ब्रतवन्ध, चार्डपर्व, पूजाआजालगायत शुभ कार्यमा प्रदान गरिने दक्षिणा १०१ रुपैयाँ कायम गर्न अभ्यास स्वरुप प्रथम चरणमा नगर कार्यपालिका सदस्यहरुद्वारा नै सोही बराबरको दक्षिणा व्यवहारमा लागू गराउने निर्णय गरेको छ । दक्षिणाको नाममा थपिने आर्थिक भार र तडकभडकले आर्थिक समृद्धिको पतनतिर डोहो¥याउने भएकाले पनि सामान्यरुपमा सामाजिक संस्कारमा सहभागी हुन नगरपालिकाले नगरबासीमा आग्रह गरेको छ ।

यस्तै पार्टी प्यालेसहरुमा भड्किलो र खर्चिलो रुपमा विवाह गरिने प्रचलनलाई निरुत्साहित गर्दै माडीमा पार्टी प्यालेसहरुमा गरिने विवाहमा रोक लगाउन प्रयास गर्ने भएको छ । ‘यसले स्थानीय उपलब्धता, स्रोतसाधनको प्रयोगमा कमी ल्याउँछ, स्थानीय व्यवसाय धारासायी  बन्छ भने स्थानीयलाई आर्थिक भार बढाउँछ’ माडी नगरपालिका प्रवक्ता तथा माडी नगरपालिका–९ वडाध्यक्ष शिवहरि सुवेदीले भने । बैठकले माडी बाहिरका पार्टी प्यालेसहरुमा धेरै खर्चिलो र भड्किलो भोजभतेर नगर्न नगराउँन आग्रह गर्ने निर्णय गरिएको पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ ।

दाइजो प्रथाअझै पनि ब्याप्त रहेको भन्दै प्रवक्ता सुवेदीले भने, ‘दाइजो प्रचलन नियन्त्रण गर्न आवश्यक कदम चालिने छ’ । जरा छाड्न नसकेको कुसंस्कारको अन्त्य वर्तमान आवश्यकता हो । छुवाछुत प्रथालाई हटाउन सहभोजको आयोजना गरिने निर्णय गरिएको छ ।

दुई छोरी मात्र जन्माउनेलाई विशेष सुविधा

दुई छोरी मात्र जन्माएर स्थायी बन्ध्याकरण गर्ने परिवारको दुवै छोरीलाई नगरपालिकाले नगरभित्रै कक्षा १२ सम्म निःशुल्क पढाउने निर्णय गरेको छ । लैंगिक समानता तथा सामाजिक समावेशी शीर्षकअन्र्तगत प्रस्तावित योजनामा निर्णय गरिएको छ ।

छात्रबास सञ्चालन हुँदै 

माडी नगरभित्र रहेका अभिभावकविहिन असहाय बालबालिकालाई लक्ष्मी निवासस्थित छात्रबासमा राखिने भएको छ ।

उक्त छात्राबासमा राखिने बालबालिकाहरुको शिक्षा र उज्वल भविष्य निर्माणको लागि नगरपालिकाले आवश्यक लगानी गर्ने छ । नगरमा यति नै असहाय तथा अभिभावकबिहिन बालबालिका छन् भन्ने एकिन तथ्य भने छैन । उनीहरुको तथ्यांक संकलनको कार्य जारी रहेको छ । वाल्मीकि आश्रममा रहेका ९ बालबालिकालाई छात्रबासमा ल्याइने प्रवक्ता सुवेदीले जनाए । असाहय बालबालिकाहरुको शिक्षाको लागि नगरपालिकाले नगर शिक्षाकोष समेत स्थापना गरेको छ । शिक्षा नै सफल वर्तमान र उज्वल भविष्यको पहिलो मार्गदर्शक हुने भन्दै नगरपालिकाले शिक्षामा धेरै लगानी गरेको छ । यता चेपाङ समुदायको बाहुल्यता रहेको नगरपालिका ९ प्याउलीमा बालशिक्षा प्रदान गरिनेछ ।

एक सवारी र दुई ट्रिपर खरिद गरिने

यसैबीच आजको बैठकले दुई वटा ट्रिपर र एउटा सानो गाडी खरिद गर्ने निर्णय गरेको छ । अहिले नगर प्रमुखले भाडामा ल्याइएको सवारी प्रयोग गरिरहेकाले सामान्य गाडी खरिद गरिने जनाइएको छ । त्यसैगरी नगरपालिकामा जारी विकास निर्माणका कामहरुका लागि दुई वटा ट्रिपर समेत खरिद गर्न लागिएको हो । गाडी र ट्रिपर खरिदका लागि नगरपालिकाले एक करोड ८० लाख रुपैँया बजेट बिनियोजन गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>