चितवन विशेष

माडीको शिवद्वार होमस्टेमा १४ हजार बढीले गरे भ्रमण

Banner

प्रिती पोखरेल,

माडी साउन २१-

माडी नगरपालिकाको शिवद्वारहोमस्टेमा हालसम्म १४ हजार बढी आन्तरिक तथा बाह्य पर्यटकहरु आएका छन् । चितवनको माडीमा २०७२ साल पुस १२ गतेबाट अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे सञ्चालनमा आएको हो । होमस्टे व्यवस्थापन समितिका अध्यक्ष मोहन पुनमगरले भने, ‘हालसम्म स्वदेशी तथा विदेशी गरी १४ हजारभन्दा धेरै पाहुनाहरु हाम्रो होमस्टेमा आइसक्नु भएको छ’ अध्यक्ष मगरले भने । होमस्टेले जिल्लासहित देशमै आफ्नो पहिचान बनाइ रहँदा पर्यटन प्रर्वद्धनसँगै पुन मगर समुदायको लोपोन्मुख संस्कृति संरक्षणमा समेत महत्वपूर्ण भूमिका रहेको अध्यक्ष मगरको भनाइ छ ।

स्थानीय स्रोतसाधन र सिपको प्रयोगले सुरुवात थालेको होम स्टेलाई अहिले थप व्यवस्थापन गरिँदै छ । होम स्टेको आफ्नो एक सामुदायिक भवन छ । स्थापनाको पहिलो वर्षमा पहुनालाई राख्न मिल्ने गरी ११ वटा तुलनात्मकरुपमा सुविधापूर्ण घरहरु बनाइएका थिए । पर्यटनमा आधारित व्यवसाय राम्रो सञ्चालन भएपछि दुई थप गरी अहिले जम्मा १३ वटा घरहरु रहेका जनाइएको छ । आन्तरिक कार्यक्रमको सिलसिलामा होमस्टे जानेहरु भवनमा कार्यक्रम चलाउने गर्दछन् ।

माडीको वैकुण्ड, सोमेश्वरगढी, शनि मन्दिरलगायत महत्वपूर्ण गन्तव्य एवम् चितवन राष्ट्रिय निकुञ्ज र सौराहा घुम्न देशभरबाट आउने पर्यटकहरुको रोजाइमा माडीको अयोध्यापुरी सामुदायिक होम स्टे बनेको छ । रेष्टुरेन्ट सेवा जहाँ कही पाइन्छ तर नितान्त आफ्नोपनमा आफ्नै पोखरीको माछा र अर्गानिक खाना खाँदै, निकुञ्ज नजिकैबाट नियाल्दैँ, माडीभर घुमे पनि राम्रो बसोबासको व्यबस्था भएकाले पनि पटक पटक पाहुनाहरु आउने गरेको अध्यक्ष मगरले बताए । यस्तै बस्ने गरी आउने पाहुनालाई सोरठी, मारुती, थाल नाचसँगै संस्कृति देखाएर मनोरञ्जनसमेत दिने गरिन्छ ।

‘घरमै बसीबसी पर्यटकको स्वागत गर्दै राम्रो आम्दानी भएपछि अहिले यस व्यवसायमा लागेका घरपरिवार सन्तुष्ट रहेका छन्’ मगरले भने । हरेक क्षेत्रमा सम्भावनाहरु सँगै चुनौतीहरु स्वाभाविक रुपमा रहने हुँदा केही अप्ठ्यारो अवस्थाहरु रहने भए पनि थप गुणस्तरीय सेवा प्रवाहमा आफूहरुको ध्यानकर्षण हुने गरेको उनले बताए । ‘माडीको सम्भावनाको अझै आवश्यक प्रचारप्रसार हुन सकेको छैन, नत्र यस्ता होमस्टे स्थानीयले अन्य धेरै सञ्चालन गर्न सक्छन्’ मगरको भनाइ छ ।

स्थानीय सरकार, तराई भूपरिधि कार्यक्रम ताल, मध्यवर्ती उपभोक्ता समिति, अष्ट्रेलियन सरकार एजेन्सी इन्टरप्रिट, तारा गाउँ विकास समितिलगायत विभिन्न संघसंस्था र व्यक्तिहरुको सहयोग रहेको होम स्टेले समग्र माडीको पर्यटन प्रवद्र्धन र नेपाल सरकारको पर्यटन वर्ष मनाउने उद्देश्यमा महत्वपूर्ण योगदान दिने देखिएपछि प्रदेश सरकारको समेत होमस्टेको प्रवद्र्धनमा ध्यानकर्षण हुन थालेको छ । हालै मात्र प्रदेश सरकारको तीन लाख आर्थिक सहयोगमा होमस्टेको सभाहलमा चार वटा एसी जडान गरिएको समितिका सचिव तुलबहादुर पुन मगरले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>