चितवन विशेष
माडीको रिउ खोला व्यवस्थापनको काम सुरु

चितवन,साउन १८-
रिउ खोलाले माडी नगरपालिका–१ मा हजारौं बिघा जमिन कटान गर्दा बस्ती नै जोखिममा परेपछि खोला व्यवस्थापनको काम थालिएको छ । रिउले कटान गर्दै जाँदा हाल खोला घरान बोटे गाउँ, द्रौपतिनगर, पाण्डवनगर गाउँ छेउबाटै बग्दै आएको छ । रिउ खोला बगिरहेको सो क्षेत्रको सबै जमिन व्यक्तिगत लालपुर्जा भएको खेतीयोग्य जमिन हो । रिउले वर्षेनी कटान गर्दै बस्ती नै उठिबास हुन थालेपछि रिउ खोला पुल नजिकैबाट खोला घरान खन्ने काम भइरहेको छ ।
माडी नगरपालिकाले रिउ खोला व्यवस्थापनको कामलाई तिव्रता दिएको छ । रिउ खोलाको पुरानै घरानलाई कायम गर्दै खोला व्यवस्थापनको काम अगाडि बढेपछि सधै उच्च जोखिम मोल्दै आएका स्थानीय खुशी भएका छन् । ‘रिउ खोलाले कटान गर्दा हजारौं बिघा खेतीयोग्य जमिन बगर भयो, अधिकाशं बस्तीहरू नै विस्थापित हुने अवस्थामा थिए, माडी नगरपालिकाले रिउ खोलालाई पुरानै घरानबाट बगाउने गरी काम सुरू गरेर जनताको पक्षमा काम गरेकोमा हामी निक्कै खुसी छौं’–स्थानीय अर्जुन पाठकले भने ।
बगहीदेखि बनकट्टासम्म नै रिउ खोलाको व्यवस्थापनका लागि कंक्रिटवालसहितको तटबन्धका लागि केन्द्र सरकारसँग कुरा भइरहेको नगरप्रमुख ठाकुरप्रसाद ढकालले बताए ।