चितवन विशेष

भरतपुर-माडी-ठोरी हुलाकी सडकः कतै ठेक्का लगाउदै,कतै म्याद सकिँदै

Banner

चितवन,साउन १४-

ठोरी–माडी–भरतपुर हुलाकी सडक छुट्टा छुट्टै ठेक्का मार्फत निर्माण गरिने भएको छ । निकुञ्जको भागलाई छोडी पाँच खण्ड बनाएर सडक विस्तार गर्न लागिएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ । दुई वर्ष भित्र सक्ने गरी सडक विस्तारको काम सुरु गरिएको सडक डिभिजन कार्यालयका ईन्जिनियर विजय दराईले जानकारी दिए ।

भरतपुरको हाकीमचोक देखि ठोरी बसपार्क सम्म ८२ किलोमिटर सडक छ । यस सडकमा ७ मिटरको फराकिलोमा कालोपत्रे गरिनेछ । नालि सहित १२ मिटर फराकिलो बनाउन लागिएको ईन्जिनियर दराईले जानकारी दिए । सो सडक विस्तारको लागि विगत २०७४ साल योजना परेको थियो ।

पहिलो खण्ड अन्तरगत माडीको बनकट्टा देखि देबेन्द्रपुर सम्मको १५ किलोमिटर सडक विस्तारका काम सुरु भैसकेको छ । “२०७४ माघ महिनाबाट काम सुरु भएको थियो । आशिष निर्माण सेवा कम्पनिले २०७५ फागुन सम्ममा काम सम्पन्न गर्नुपर्ने थियो । तर, अहिले सम्म सब वेस र नालाको काम भएको छ,” ईन्जिनियर दराईले भने, “यसको म्याद थप गर्ने प्रकृयामा छौँ ।” २० करोड ४२ लाख १ हजार ३ सय ७४ रुपैयाँमा ठेक्का दिईएको उनले बताए । माडी क्षेत्रमा वातावरण प्रभाव मुल्याङ्कनका कारण सडक विस्तारको काम समयमा नसकिएको उनको भनाई छ ।

पकौडी देखि जगतपुर सम्मको ६ दशमलव २ किलोमिटर सडकको काम पनि भईरहेको छ । अहिले ओम शान्ति शाहि निर्माण सेवाले कामको जिम्मा पाएको छ । कल्भड, हिलपाईप, सवबेसको काम भईरहेको ईन्जिनियर दराईले जानकारी दिए । ६ करोड ७५ लाख ४८ हजार ८ सय ४३ रुपैयाँ लागतमा २०७६ जेठ महिना देखि काम सुरु भएको छ । २०७७ जेठ मसान्तसम्म काम सक्नुपर्नेछ ।

हाकिमचोक देखि पकौडी सम्मको १३ किलोमिटर सडक निर्माणका लागि छुट्टै ठेक्का लगाउन लागिएको ईन्जिनियर दराईले जानकारी दिए । यो एक महिना भित्र ठेक्काको टुङ्गो लगाउने उनले बताए । यस्तै ठोरी क्षेत्रको ५ किलोमिटरको भाग पनि ठेक्का लगाउने तयारीमा रहेको उनले बताए । यस सडकको ठेक्का लगाउने काम हुलाकी सडक आयोजनाले गरिरहेको छ ।

देवेन्द्रपुरदेखि बबई बसपार्क सम्मको लागि छुट्टै ठेक्का लगाईएको छ । हाकिमचोकदेखि पर्साको ठोरी सम्मको ६८ किलोमिटर सडक विस्तार गर्नका लागि ४५ करोड बजेट रहेको सडक विभागले जानकारी दिएको छ । सो सडक विस्तारको काम दुई बर्ष भित्र सकिने बताईएको छ ।

ठोरी–माडी–भरतपुर हुलाकी सडक विस्तारमा नालि पनि बनाईने छ । भत्किएको स्थानमा मर्मत गरिनेछ । यस सडक खण्डमा भरतपुर महानगरपालिका, माडी नगरपालिका र ठोरी गाउँपालिका पर्दछ । निकुञ्ज भित्रको ३४ किलोमिटर लम्बाई हाल विस्तार नगरिने ईन्जिनियर दराईले जानकारी दिए ।

सर्वोच्चले निकुञ्ज भित्र सडक विस्तार नगर्न आदेश दिएको छ । माडीमा रहेका खोलाहरूमध्ये नौवटामा पुल बनाइनेछ । पुलको कमका लागि भने, हुलाकी सडक आयोजनाले छुट्टै लगाउने छ । माडी उपत्यकामा मात्र २०४९ सालदेखि हुलाकी सडकका रूपमा सञ्चालन हुँदै आएको छ ।

२०६५ सालमा चितवन राष्ट्रिय निकुञ्जसँग सहमति गरेर हालको कसरादेखि बनकट्टा क्षेत्रबाट कृषि सडकको नाममा खोलिएको थियो । सडक निर्माण भएपछि भरतपुर ठोरी गर्नका लागि केही सहज हुने बताईएको छ । अहिले यस सडक खण्ड अन्तरगत भरतपुर देखि जगतपुर सम्म ५ किलोमिटर कालोपत्रे भईसकेको छ । त्यसमा एक मिटर दायाँ र एक मिटर बायाँमा मात्र कालोपत्रे गरिने कार्यालयले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>