चितवन विशेष
राप्ती नगरपालिकामा पहाड र समथर भू–भागमा बस्नेबीच अन्तरघुलन गरिँदै

चितवन साउन १२-
राप्ती नगरपालिकाले आफ्नो नगरको पहाड र समथर भू–भागमा बसोबास गर्ने बासिन्दाबीचमा अन्तरघुलन गर्ने भएको छ । नगरपालिकाका चार वटा वडा पहाडमा पर्दछ भने नौ वटा वडा समथर भू–भागमा पर्दछ ।
तराईका जनताको तुलनामा पहाडमा बस्ने निकै पछाडि परेका छन् । नगरप्रमुख प्रभा बरालका अनुसार पहाडमा बसोबास गर्ने पछाडि परेकाले उनीहरुलाई तराईको संस्कृति, रहनसहनसँग निकट बनाउन र तराईकालाई पहाडको वस्तुस्थिति बुझाउन अभियानका रुपमा अन्तरघुलन कार्यक्रम गर्न लागिएको हो ।
तीज पर्वमा दुवै क्षेत्रका महिलालाई एकै स्थानमा जम्मा गरेर एकआपसमा परिचयसँगै संस्कृति आदानप्रदान गर्ने कार्यक्रम गरिँदैछ । अन्य पर्वमा पनि मिलेसम्म दुवै क्षेत्रका मानिसलाई एकआपसमा परिचित गर्ने गरी कार्यक्रम गरिँदैछ । बरालका अनुसार विद्यार्थीलाई एक स्थानबाट अर्को स्थानमा भ्रमण गराउने, शिक्षक शिक्षिकालाई एक ठाउँबाट अर्को ठाउँमा लगेर पठनपाठनको सीप आदानप्रदान गर्ने, महिला समूहलाई एक ठाउँबाट अर्को ठाउँमा भ्रमणका रूपमा लगेर जानेका सीप आदानप्रदान गर्ने जस्ता कार्यक्रम गरिँदैछ ।
पहाडी क्षेत्रका जनता निकै पछाडि परेको उनको भनाइ छ । कतिपय ठाउँमा तराईबाट पुग्ने सुकिलामुकिला मानिस देखेपछि त्यहाँका जनता भाग्नेसमेत गरेको स्थानीय बताउँछन् । बरालले ती जनतालाई तराईका जनतासँग घुलमिल गराएर जीवनस्तर उकास्न सहयोग पु¥याउने उद्देश्यका साथ तराई र पहाडका जनतालाई जोड्न लागेको बताइन।रासस