इच्छकामना

रंगशालाका लागि तात्यो चितवन, इच्छाकामनामा गठन गरियो सहयोग समिति

०
Banner

चितवन (मुग्लिन), साउन ८–

चितवनको भरतपुर महानगरपालिका–१५ स्थित रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको सहयोगका संकनका लागि चितवनवासी जागरुक बनेका छन् । आफ्नै ठाउँमा पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण हुने भएपछि चितवनवासी सहयोग समिति गठन गरी निर्माण अभियानलाई तिव्रता दिएका छन् ।

यसैक्रममा चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिकामा समेत सहयोग समिति गठन गरिएको छ । मङ्गलबार गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङको संयोजकत्वमा ४६ सदस्यीय गाउँपालिकास्तरीय सर्वपक्षीय सहयोग समिति गठन गरिएको हो । समितिमा जनप्रतिनिधि, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, पत्रकारलगायत छन् ।

गाउँपालिका अध्यक्ष गुरुङले समग्र जिल्लाको गौरवका लागि सबै मिलेर गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको कामलाई सफल बनाउन सबै एकजुट भएर लाग्नुपर्ने बताइन् । उनले गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।
जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले रङ्गशाला निर्माणको सहयोगका लागि चितवनका सबै स्थानीय तहमा समिति गठन गरिने बताए ।

सामाजिक अभियानकर्मी कलाकार ‘धुर्मुस–सुन्तली फाउण्डेशन’का अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले दुई वर्षभित्रै क्रिकेट रङ्गशाला निर्माण सम्पन्न गर्ने बताए । उनले सबैको साथ र सहयोग आवश्यक रहेको बताउँदै आफ्नो मानसपटलमा रङ्गशाला निर्माण सम्पन्न भइसकेकाले कुनै द्विविधा नराख्न आग्रह गरे ।

समिति निर्माणका लागि गाउँपालिकामा फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’सहित जिल्ला समन्वय समितिका प्रमुख डल्लाकोटी, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष यामबहादुर परियार र नेपाली काङ्ग्रेसका सभापति जीतनारायण श्रेष्ठलगायतको उपस्थिति थियो ।

यसअघि रङ्गशाला निर्माण गर्न चितवनमा सर्वपक्षीय पाँच हजार एक सदस्यीय मूल सहयोग समिति गठन भइसकेको छ । गाउँपालिकाका राजनीतिक दल, सङ्घसंस्था, व्यवसायी र स्थानीयवासीले रङ्गशाला निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>