खैरहनी

खैरहनी नगरपालिकाको पूँजीगत खर्च झण्डै ९० प्रतिशत

Banner

चितवन, साउन ६-

चितवनको खैरहनी नगरपालिकाले गत आर्थिक वर्षमा गरेका कार्यप्रगतिको विवरण सार्वजनिक गरेको छ ।

गत आर्थिक वर्ष २०७५\०७६ मा नगरपालिकाले गरेका कामहरु सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा सार्वजनिक गरिएको हो । गत वर्ष खैरहनीले ८५.८५ प्रतिशत खर्च भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले जानकारी दिए । उनका अनुसार चालु खर्च तर्फ ८२.०५ प्रतिशत र पूँजीगत तर्फ ८९.६५ प्रतिशत खर्च भएको छ । समपुरक केही योजना वैशाख मात्रै प्राप्त हुनु, काम सम्पन्न भएको योजनाको भुक्तानी नहुनु त्यस्तै केही सडक पिच हुन नसक्दा खर्च कम देखिएको खैरहनीका मेयर लालमणि चौधरीले बताए ।

वडागत १६ वटा योजनासमेत गत आर्थिक वर्षमा सम्पन्न हुन सकेन । पत्रकार भेटघाटमा मेयर चौधरीले चालु आर्थिक वर्ष २०७६\०७७ मा प्राथमिक स्वास्थ्य केन्द्र खैरहनीलाई स्तरोन्नति गरी १५ शैयाको अस्पताल सञ्चालन गर्ने, आँखा अस्पताल निर्माणको प्रक्रिया अगाडि बढाउने बताए । जनप्रतिनिधि निर्वाचित हुनु अघि एक करोड रुपैयाँ पनि आन्तरिक राजस्व संकलन नगरेको खैरहनीले दुई वर्षको अवधिमा आन्तरिक राजस्व संकलनमा ठूलो फड्को मारेको मेयर चौधरीको भनाइ थियो ।

गत आर्थिक वर्षमा खैरहनीले झण्डै साँढे १२ करोड रुपैयाँ आन्तरिक स्रोतबाट राजस्व संकलन गरेको छ । एक वर्षको अवधिमा न्यायिक समितिमा ५१ वटा मुद्दा परेकोमा ४८ वटा मुद्दा फछ्यौट भएको न्यायिक समिति संयोजकसमेत रहेकी खैरहनीकी उपमेयर सुनिता थपलियाले जानकारी दिइन् । पत्रकार भेटघाटमा स्थानीय शिक्षा अधिकारी महेन्द्र पौडेल, वडाध्यक्षहरु, शाखा प्रमुखहरुले पत्रकारको जिज्ञासाको जवाफ दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>