Uncategorized

नेपालमा पेट्रोलिमय पदार्थको उत्खनन्, चिनियाँ प्राविधिक आउने

Banner

काठमाडौँ, असार ८-

सरकारले दैलेख र पाल्पामा पेट्रोलियम पदार्थको उत्खनन्को प्रक्रिया सुरु गर्न लागेको छ ।

ती क्षेत्रमा रहेको पेट्रोलिमय पदार्थ उत्खनन्का लागि चिनियाँ प्राविधिकसमेत आइसकेका छन् । पहिलो चरणमा चिनियाँ प्राविधिकले प्राविधिक तयारी गर्ने छन् । प्रतिनिधिसभाको आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले एक साताभित्रै पेट्रोलिमय पदार्थको उत्खनन्का लागि प्रक्रिया सुरु हुने जानकारी दिए । नेपाल र चीन सरकारबीच भएको सहमतिका आधारमा चिनियाँ प्राविधिक यहाँ आएका छन् ।

विनियोजन विधेयक, २०७६ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका विभिन्न शीर्षक माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले देशभित्रै पेट्रोलियम पदार्थको उत्खनन्को प्रक्रिया सुरु हुन लागेको जानकारी दिए । यस्तै सरकारले नवलपरासीको धौवादीमा रहेको फलामखानीको उत्खननको प्रक्रियासमेत अगाडि बढाएको उनले जानकारी दिए । उनले उपलब्ध साधनस्रोतको उपयोग गरी बजार अनुगमन गरिएको, गुणस्तरीय वस्तु उपभोक्तालाई उपलब्ध गराउन निरन्तर अनुगमन जारी रहेको बताए ।

गत जेठ मसान्तसम्म एक हजार ५४५ वटा फर्मको अनुगमन गरिएको उल्लेख गर्दै मन्त्री यादवले १४५ फर्मलाई जरिवाना गरिएको जानकारी दिए । उनले एक फर्मको अनुमतिपत्र खारेज गरिएको र छ वटा फर्मलाई कारबाहीका लागि सम्बन्धित निकायलाई पठाइएको र तीन वटालाई मुद्दा चलाइएको उल्लेख गरे ।

यस्तै गुणस्तर तथा नापतौल विभागबाट १४५ वटा गुणस्तर चिह्न प्राप्त गरेका फर्म र अन्य १६९ फर्मको अनुमगन गरिएको छ । अनुगमनका क्रममा कुल ११ प्रकारका सामग्रीको बिक्री रोक्का गरिएको र १३ वटाको गुणस्तर चिह्न स्थगन गरिएको मन्त्री यादवले बताए । यस्तै उपभोक्ता ठगी गर्ने २१ वटा पेट्रोलपम्पलाई कारवाही गरिएको मन्त्री यादवको भनाइ छ ।

निजी क्षेत्रलाई पनि पेट्रोलियम पदार्थको आयात र बिक्रीका लागि सरकारले सहजीकरण गर्न लागेको र अध्ययन समिति गठन गरिएको जानकारी दिँदै मन्त्री यादवले थप पेट्रोलपम्प खोल्नका लागि सूचना आह्वान गरिएको र यही असार १३ गतेसम्म आवेदनको समयावधि रहेको बताए । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>