चितवन विशेष

चितवनमा गर्मीले विद्यालय बन्द, विद्यार्थीको घर–घरमै पुग्छन् शिक्षक

Banner

चितवन, जेठ २५–

चितवनमा पछिल्लो एक साता यता अत्याधिक गर्मी छ । यहाँको तापक्रम ३७ डिग्रीसम्म पुगेको छ । यस्तो अवस्थामा अध्यापन गराउन कठिन भएपछि भरतपुरस्थित नेपाल पुलिस स्कुल शान्तिपुरले गर्मी बिदा दिएको छ । विद्यार्थी आ–आफ्नो घरमा बसेर स्कुलले दिएको गर्मी बिदाको गृहकार्य गर्दैछन्, अध्ययन गर्दै छन् । तर स्कुलका शिक्षकहरुलाई भने बिदा दिईएको छैन । उनीहरु विद्यार्थीहरुको घर–घरमा पुगेरै विद्यार्थीको दैनिक गतिविधी, गृहकार्य, आचरण व्यवहार, अध्ययनको वातावतरण लगाएतका विषयमा जानकारी लिईरहेका छन् ।

शनिबार र आईतबारको बिदा समेत गरि गर्मी बिदामा विद्यार्थीहरु ९ दिन घरमै बस्नुपर्ने भएकाले शिक्षकहरुलाई विद्यार्थीहरुको घर–घरमै पठाएर अध्ययन एवंम गृहकार्यमा सहजीकरण गर्ने गरी स्कुलले शिक्षक–शिक्षीकाहरुलाई परिचालन गरिएको विद्यालयका समादेशक प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिए । कक्षा एक देखी दशसम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई बिदाको समयमा समेत अध्ययन गतिविधीमा सलग्न गराई राख्न स्कुलले विद्यार्थीहरुलाई विभिन्न गृहकार्य, कार्यपत्र तयार गर्ने, व्यवहारिक अभ्यास गर्ने जस्ता गतिविधीमा सक्रिय रहन बिदाको गृहकार्य दिएको छ । यिनै गतिविधीमा विद्यार्थीलाई सक्रिय बनाई राख्न र सहजीकरण गर्न शिक्षकहरु पनि विद्यार्थीको घर–घरमा पुगीरहेका छन् ।

विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई उसको अध्ययनको अवस्था, विद्यार्थीका अभिभावकले विद्यालयसंग गर्ने गरेको गुनासो, विद्यार्थीको पढाई प्रतिको अभिरुची लगाएतका विषयलाई आधार मानेर विद्यार्थीहरुको समूह विभाजनसहित शिक्षक कर्मचारीहरुलाई घर भिजिटमा परिचालन गरिएको विद्यालयका समादेशक प्रहरी निरीक्षक थापाले बताए । ‘शिक्षकले घरमै पुगेर विद्यार्थीको अनुशासन, उसको पठनपाठनको अवस्था, शिक्षण शिकाईलाई सुधार गर्न अभिभावकको भूमिका, घरमा विद्यार्थीको अध्ययन वातावरणको अवस्थाको बारेमा जानकारी लिनुहुन्छ, बिदामा विद्यालयले दिएको गृहकार्यसंग सम्बन्धित विषयमा समेत अभिभावक तथा विद्यार्थीहरुलाई सहजीकरण गर्नेगरी शिक्षकहरुलाई विद्यार्थीको घर–घरमै परिचालन गरिएको हो’–विद्यालयका समादेशक थापाले भने ।

विद्यालय समयमा समेत मोबाईल, ल्यापटपका साथै सामाजिक संजालमा सक्रिय रहने विद्यार्थीहरु बिदाको समयमा अझै बढी त्यसमा ब्यस्त रहने भएकाले घरमै बस्दा पनि अध्ययनलाई निरन्तरता दिने गतिविधीमा सलग्न गराउने उद्धेश्यले शिक्षकलाई विद्यार्थीको घरमानै पुगेर निगरानी गर्ने व्यवस्था मिलाईएको समादेशक थापाले बताए ।

शिक्षक शिक्षिकाले विद्यार्थीको घरमा पुगेर पठन–पाठनका साथै अभिभावकहरुलाई सुरक्षा सचेतना समेत गराई रहेका छन् । विद्यालयसम्म विद्यार्थी छाड्न आउँदा हुन सक्ने सवारी दुर्घटना न्यूनीकरण, घरेलु हिंसाका कारण विद्यार्थीको पढाईमा पर्ने असर, विद्यार्थीको अगाडि अभिभावकले प्रस्तुत गर्नुपर्ने आचरण व्यवहारका साथै सामाजिक संजाल प्रयोगबाट हुन सक्ने सम्भावित अपराधको बारेमा समेत अभिभावक एवम विद्यार्थीहरुलाई सचेत गराउने गरिएको छ ।

नेपाल पुलिस स्कुल शान्तिपुरले सुरक्षा, शिक्षा, अनुशासन र सामाजिकताका सम्बन्धमा विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप मार्फत विभिन्न विषयमा ज्ञान, सिप, कलामा प्रशिक्षण गर्दै आईरहेको समादेशक थापाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>