राजनीति

सांसदलाई दिने छ करोड रूपैयाँ रोक्न माग गर्दै सर्वोच्चमा रिट

Banner

काठमाडौँ, जेठ १९-

यस वर्षको बजेटमा निर्वाचन क्षेत्रको विकास गर्न भन्दै सांसदलाई छुट्याइएको बजेट संविधानविपरित भएकाले बजेटबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

अधिवक्ता पारसमणि भट्टराईको उक्त रिट इजलासको आदेशमा आइतबार दर्ता भएको हो । ‘आर्थिक वर्ष २०७६ र २०७७ को बजेट वक्तव्यको २१३ नम्बर बुँदामा सांसदलाई ६ करोड दिने गरी भएको कार्य नेपालको संविधानको धारा १, ४, ५, ६ र ५७ सँग बाझिएको हुँदा सो बुँदालाई उत्प्रेषणको आदेशले बदर गरिपाउँ,’ रिटमा माग गरिएको छ ।

निर्वाचन क्षेत्रको पूर्वाधार विकासका लागि सांसदहरूका नाममा बजेट छुट्याउन लागेको भन्दै त्यसलाई रोक्न भट्टराईले बजेट आउनुपूर्व नै रिट दिएका थिए । त्यसमा पहिला छुट्याइएको चार करोड बदर गर्न र अब पनि सांसदलाई निर्वाचन क्षेत्र विकास गर्ने रकम रोक्न माग गरिएको थियो।

उक्त रिट सर्वोच्चका रजिष्ट्रार लालबहादुर कुँवरले सोमबार दरपीठ गरे पनि बिहीबार न्यायाधीश डम्बरबहादुर शाहीले उक्त रिट दायर गर्न प्रशासनलाई आदेश दिएका थिए । ‘रिट निवेदकले संविधानको धारा १,४, ५६ र ५७ लाई आधार लिएर संघीय संसद सदस्यलाई चार करोड दिने निर्णय गैरसंवैधानिक भएको जीकिर लिएको विषय इजलासबाटै निरूपण हुनुपर्ने,’ न्यायाधीश शाहीले दिएको आदेशमा उल्लेख छ ।

यो आदेश आउनु एक दिनअघि बुधवार अर्थमन्त्री युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको बजेटले संसदलाई ६ करोड रूपैयाँ छुट्याएको थियो । सांसदलाई विकास खर्च दिँदा स्थानीय, प्रदेश र संघीय सरकारको काम र अधिकारमाथि हस्तक्षेप हुने भट्टराईको रिटमा उल्लेख छ ।

‘लोककल्याणकारी राज्य स्थापनार्थ नीति नियम निर्माण गर्ने विपक्षी सांसदहरुलाई राष्ट्रिय ऋणको जोखिम मोलेर, नेपालको संविधानमा भएको संघीय प्रणालीको जगलाई नै धराशायी ६ करोडका दरले विनियोजन गरेको बजेट दुषित गलत तथा धारा १,४, ५६ र ५७ सँग बाझिएको छ,’ रिटमा भनिएको छ, ‘संघीयता नै असफल भई राज्यलाई समेत अरबौंको घाटा पर्न जाने भएको हुँदा प्रत्येक निर्वाचन क्षेत्रमा ६ करोड दिने गरी ल्याइएको बजेटको बुँदा नम्बर २१३ लाई तत्काल कार्यान्वयन नगर्न नगराउन विपक्षीहरूको नाउँमा अन्तरिम आदेश जारी गरिपाउँ,’ रिटमाथि आउँदो २४ गते सुनुवाइ हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>