राजनीति
बालेनको भारत भ्रमणलाई बाबुरामको सकारात्मक टिप्पणी, भने– द्विपक्षीय सम्बन्धमा नयाँ सुरुवातको संकेत

काठमाडौं, मंसिर ७ –
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो भारत भ्रमणलाई सकारात्मक रूपमा मूल्यांकन गरेका छन् ।
उनले इतिहासदेखि थाती रहेका असमान सन्धि, सीमा विवाद र आर्थिक परनिर्भरताजस्ता महत्त्वपूर्ण विषयमा ठोस प्रगति हुन नसके पनि तत्कालीन द्विपक्षीय मुद्दामा भएका सहमतिलाई सन्तोषजनक मानेका छन् ।
भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै २४ बुँदे संयुक्त विज्ञप्ति, आठवटा समझदारीपत्र, द्विदेशीय भिजन डकुमेन्ट तथा विभिन्न परियोजनाको उद्घाटन र घोषणालाई भ्रमणका महत्त्वपूर्ण पक्षका रूपमा उल्लेख गरेका छन् ।
उनका अनुसार केही विषय शृंगारिक देखिए पनि पछिल्लो समय नेपाल–भारत सम्बन्धमा देखिएको अन्योल र आशंका हट्दै नयाँ सकारात्मक सुरुवात हुन खोजेको संकेत भ्रमणले दिएको छ ।
भट्टराईले दुवै देशका प्रधानमन्त्रीको शारीरिक हाउभाउ ९बडी ल्याङ्ग्वेज० र एकअर्काप्रति प्रयोग गरेका शब्दले पनि कूटनीतिक सम्बन्धमा बढ्दो न्यानोपन झल्काएको टिप्पणी गरेका छन् ।
यद्यपि, उनले द्विपक्षीय सम्बन्धका संरचनात्मक समस्या अझै समाधान नभएको भन्दै भविष्यमा ती विषय पुनः बल्झिन सक्ने सम्भावनाप्रति सचेत गराएका छन् । अहिले गरिएका सहमति र प्रतिबद्धता कार्यान्वयन गर्नु पनि चुनौतीपूर्ण रहेको उनको भनाइ छ ।
समग्रमा विषम परिस्थितिमा गठन भएको नयाँ सरकार र युवा प्रधानमन्त्रीले संवेदनशील परराष्ट्र सम्बन्धको क्षेत्रमा हासिल गरेको उपलब्धिका लागि बधाई दिनु उचित हुने भट्टराईले उल्लेख गरेका छन् ।
उनको यो धारणा प्रधानमन्त्री शाहको भारत भ्रमणपछि सार्वजनिक भएको हो । भ्रमणका क्रममा नेपाल र भारतबीच २४ बुँदे संयुक्त वक्तव्य जारी हुनुका साथै आठवटा समझदारीपत्र आदानप्रदान भएका थिए ।
























