देश/प्रदेश
गृह श्रमिकको योगदानको मूल्याङ्कन गरी पहिचान र अधिकार सुनिश्चित गर्न आग्रह

काठमाडौँ, मंसिर ७ –
गृह श्रमिकले मुलुकको अर्थतन्त्रमा पु¥याएको योगदानको उचित मूल्याङ्कन गर्दै उनीहरूको पहिचान, अधिकार तथा आर्थिक–सामाजिक समुन्नति सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ ।
गृह श्रमिक सरोकार समाज नेपालले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले गृह श्रमिकको योगदान अर्थतन्त्रको विकासमा विशिष्ट रहे पनि राज्यका नीति, कानुन र तथ्याङ्कमा उनीहरूले उचित स्थान पाउन नसकेको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा पुकार मल्लले गृह श्रमिकको क्षेत्रमा नीतिगत सहकार्यका लागि हालसम्म भएका प्रयासबारे चर्चा गर्दै आगामी सत्रौँ आवधिक योजनामा यस विषयलाई उचित सम्बोधन गरिने बताउनुभयो । उहाँले चालु सोह्रौँ आवधिक योजनाको मध्यावधि समीक्षाका क्रममा पनि गृह श्रमिकले अर्थतन्त्रमा पु¥याएको योगदानबारे विवेचना गरिने विश्वास व्यक्त गर्नुभयो ।
समाजका अध्यक्ष प्रभा पोखरेलले श्रम ऐन तथा नीतिमा परिमार्जन र गृह श्रमिकका मुद्दाको सम्बोधनका लागि आफूहरूले लामो समयदेखि पैरवी गर्दै आएको बताउनुभयो । उहाँले गृह श्रमिकको पहिचान, सञ्जालीकरण, क्षमता तथा सीप विकास र श्रमिकका रूपमा मान्यता एवं अधिकार सुनिश्चित गर्न सरकारी तथा गैरसरकारी क्षेत्रबीच समन्वय आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा प्रस्तुत अध्ययन–विवेचनाअनुसार गृह श्रमिक भन्नाले आफ्नै घर वा आफूले रोजेको अन्य स्थानमा बसेर रोजगारदाताको कार्यस्थलबाहिर ज्यालाका लागि वस्तु उत्पादन गर्ने वा सेवा प्रदान गर्ने श्रमिक हुन् । उनीहरूले रोजगारदाताले निर्दिष्ट गरेका वस्तु वा सेवा उत्पादन तथा उपलब्ध गराउने गर्दछन् । यसका लागि आवश्यक उपकरण, सामग्री तथा अन्य स्रोत रोजगारदाता वा श्रमिक स्वयंले उपलब्ध गराउन सक्छन् ।
नेपाल जीवनस्तर सर्वेक्षणले मुलुकमा करिब ३० लाख अनौपचारिक गृह श्रमिक रहेको देखाएको छ । तीमध्ये करिब ५० प्रतिशत महिला छन् । गृह श्रमिकमध्ये एक प्रतिशतभन्दा कमले मात्रै रोजगारदातासँग लिखित करार सम्झौता गरेका छन् । उनीहरूले वार्षिक बिदा, तलबी बिदालगायत श्रम अधिकार तथा सुविधासमेत प्राप्त गर्न नसकेको जनाइएको छ ।
सरकारी तथ्याङ्कअनुसार गृह श्रमिकले मुलुकको कुल गार्हस्थ्य उत्पादनमा ११ प्रतिशत योगदान पु¥याएका छन् । अर्थतन्त्रमा यति ठूलो योगदान रहे पनि उनीहरूको श्रमको उचित मूल्याङ्कन, सामाजिक सुरक्षा र कानुनी संरक्षण हुन नसकेको कार्यक्रममा सहभागी वक्ताहरूले बताउनुभयो ।
























