Breaking News

दुईपटकको निराशापछि तेस्रो प्रयासमा सुदूरपश्चिमले उचाल्यो एनपिएल ट्रफी

०
Banner

काठमाडौं, मंसिर ५ –

नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्स च्याम्पियन बनेको छ । लगातार दुई संस्करणमा फाइनलसम्म पुगेर उपविजेतामा सीमित भएको सुदूरपश्चिमले तेस्रो प्रयासमा उपाधि जित्न सफल भएको हो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै उपाधि उचाल्यो ।

यसअघि एनपिएलको पहिलो र दोस्रो संस्करणमा पनि सुदूरपश्चिम फाइनलमा पुगेको थियो । तर, दुवैपटक उपाधि जित्न असफल भएको थियो । पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको सुदूरपश्चिम दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँग पराजित हुँदै उपविजेतामा सीमित बनेको थियो ।

तेस्रो संस्करणमा पनि फाइनलमा लुम्बिनीसँगै प्रतिस्पर्धा गरेको सुदूरपश्चिमले यसपटक भने नतिजा आफ्नो पक्षमा पार्दै उपाधि जित्यो ।

फाइनलमा लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले १३.३ ओभरमा कुनै विकेट नगुमाई पूरा गरेको थियो । सुदूरपश्चिमको जितमा जर्ज मन्सीले अविजित १२५ रनको योगदान दिए । उनले ५४ बलमा आठ चौका र १२ छक्का प्रहार गरे । त्यस्तै, विनोद भण्डारीले अविजित ३० रन बनाए ।

मन्सी र भण्डारीले पहिलो विकेटका लागि १५८ रनको अविजित साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए ।

यससँगै सुदूरपश्चिमले अघिल्ला दुई संस्करणको फाइनल हारको शृङ्खला तोड्दै तेस्रो संस्करणको उपाधि आफ्नो नाममा गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>