चितवन विशेष
चितवनबाट रेडियो कलर लगेर शुक्लाफाँटाको पुच्छर नभएको हात्तीमा जिपिएस जडान गरिँदै

महेन्द्रनगर, मंसिर ५ –
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेको पुच्छर नभएको ‘शुक्लागजराज’ हात्तीमा रेडियो कलर (जिपिएस) जडानका लागि प्राविधिक टोली खटिएको छ । निकुञ्ज छेउछाउका बस्तीमा गएर मानवीय क्षति पुर्याउनुका साथै स्थानीयको भौतिक सम्पत्तिमा हुनसक्ने क्षति न्यूनीकरण गर्ने उद्देश्यले निकुञ्जले जिपिएस जडान सुरु गरेको हो ।
चितवनबाट रेडियो कलर ल्याएर यहाँ ‘शुक्लागजराज’मा जडान गरिने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिनुभयो । उहाँले शुक्लाफाँटाभित्र तीन दिनदेखि उक्त हात्तीको खोजीमा प्राविधिक टोली खटिएको बताउनुभयो । “निकुञ्ज प्रशासन र राष्ट्रिय प्रकृति संरचक्षण कोषको टोली चिकित्सकसहित खटिएको छ”, उहाँले भन्नुभयो, “तीन दिन भयो हात्ती फेला परेको छैन ।”
गत वर्षअघि लालझाडीको ढक्का र भीमदत्त नगरपालिकाको बनकट्टीमा गरी दुई जनाको ज्यान लिएको थियो । पछिल्लो समय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको रणसिंह दल गणले सुरक्षा सक्रियता कारण उक्त हात्तीले मानवीय क्षति भने गर्न सकेको छैन । हात्तीमा रेडियो कलर जडानपछि निगरानी बढाएर बस्तीमा क्षति हुन नदिने रणनीति अपनाइनेछ ।
तीन सय पाँच किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउछाउका बस्तीमा हरेक वर्ष हात्तीले क्षति पुर्याउँदै आएका छन् । निकुञ्ज प्रशासनले मानव–वन्यजन्तु नियन्त्रणका लागि मानवीय क्षति न्यूनीकरणका लागि अभियान सञ्चालन अघि बढाएको छ ।
























