Breaking News
प्रधानमन्त्रीको घोषणा :चितवनसहित आठ स्थानमा फ्लडलाइटयुक्त क्रिकेट रंगशाला बन्ने

काठमाडौं, मंसिर ५ –
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाल प्रिमियर लिग (एनपीएल) का आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेका छन् । छैटौँ संस्करणदेखि एनपीएल होम एन्ड अवे प्रणालीमा सञ्चालन गर्ने योजनाअनुसार आठवटै क्लबका आफ्नै रंगशाला निर्माण गर्न लागिएको उनले बताएका हुन् ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत एनपीएलको विजेता सुदूरपश्चिम रोयल्सलाई बधाई दिँदै यस्तो घोषणा गरेका हुन् । उनका अनुसार रंगशाला निर्माणको जिम्मेवारी नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयले लिनेछ ।
प्रधानमन्त्री शाहले फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको र आगामी तीन महिनाभित्र अन्य रंगशालाको निर्माण प्रक्रिया पनि अघि बढाइने बताएका छन् ।
उनले सार्वजनिक गरेको विवरणअनुसार आठवटै क्लबका लागि प्रस्तावित रंगशालामा विराटनगर किंग्सका लागि बेनियापुर क्रिकेट रंगशाला, लुम्बिनी लायन्सका लागि सिद्धार्थ क्रिकेट रंगशाला र कर्णाली याक्सका लागि सुर्खेत क्रिकेट रंगशाला रहेका छन् ।
त्यस्तै, सुदूरपश्चिम रोयल्सका लागि फाप्ला क्रिकेट रंगशाला, काठमाडौं गुर्खाजका लागि कीर्तिपुर क्रिकेट मैदान, पोखरा एभेन्जर्सका लागि पोखरा क्रिकेट रंगशाला, जनकपुर बोल्ट्सका लागि रामजानकी क्रिकेट रंगशाला र चितवन राइनोजका लागि गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण गर्ने योजना सार्वजनिक गरिएको छ ।
यस योजनाअनुसार चितवनमा गौतमबुद्ध क्रिकेट रंगशालालाई फ्लडलाइटसहितको क्रिकेट पूर्वाधारका रूपमा विकास गरिनेछ ।
प्रधानमन्त्री शाहले क्रिकेटको व्यावसायिक विकास र विस्तारका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सरकार तयार रहेको बताएका छन् । आठवटै क्लबका आफ्नै रंगशाला निर्माण भएपछि एनपीएललाई होम एन्ड अवे प्रणालीमा सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।
























