चितवन विशेष
भरतपुरका बाढी प्रभावित र नगर प्रहरीलाई मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग

भरतपुर, मंसिर ५-
गत भदौ १० गतेको भोटेकाशी बाढी र अविरल वर्षाका कारण गत असोज ११ र १२ गते आएको बाढीपछि भरतपुर महानगरका केहि वडामा बाढी प्रभावितलाई मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग प्रदान गरिएको छ ।
भोटेकोशी बाढीले बगाएर ल्याएका मानव तथा पशुका शवहरु नारायणी नदीका विभिन्न स्थानमा भेटिएका थिए । त्यस्तै, असोज ११ र १२ गते आएको बाढीले भरतपुर–१६ र १७ का विभिन्न बस्तीहरु डुबानमा परेका थिए । शवको व्यवस्थापनमा खटिएका नगर प्रहरी र बाढीले डुबानमा परेका स्थानीय, स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयमसेविकाहरुलाई मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग, मनोवैज्ञानिक प्राथमिक सहयोग तथा रेफरल सम्बन्धि तालिम दिइएको हो ।
इस्रा एडको सहयोगमा वर्ल्ड भिजन एड्भोकेसी फोरमले उक्त कार्यक्रम सञ्चालन गरिरहेको छ । जसअन्तर्गत शनिबार भरतपुर महानगरका नगर प्रहरीहरुलाई मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग सम्बन्धि तालिम दिइएको वर्ल्ड भिजन एड्भोकेसी फोरमकी साइको सोशल काउन्सिलर नैना गुरुङले जानकारी दिइन् ।
स्थानीय विद्यालयमा अध्ययनरत विद्यार्थीलाई मानसिक तथा मनोसामाजिक सुस्वास्थ्य र किशोर अवस्थामा आइपर्ने मनोसामाजिक समस्याको बारेमा तालिम दिइएको छ भने शिक्षकहरुलाई सामाजिक मनोभावनात्मक सिकाइ र बालमैत्री कक्षा सञ्चालन सम्बन्धि तालिम दिइएको छ । अभिभावकहरुलाई मनोसामाजिक तथा अभिभावकत्व सम्बन्धि तालिम दिइएको हेल्थ असिस्टेन्ट सन्जिता पौडेलले बताइन् ।
स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयमसेविकालाई सरुवा रोग र सरसफाइ सम्बन्धि सम्बन्धि तालिम दिइसकिएको छ । यो तालिममा भरतपुर–३ र ४ का स्वास्थ्यकर्मी र स्वास्थय स्वयमसेविका पनि सहभागी थिए । साथै दुई वडाका गरी कुल ६ ठाउँमा हेल्थ क्याम्प गरिंदै छ ।
२५० फेमिलि हाइजिन कीट र विद्यालय तथा समुदायमा गरी थप ४०० वटा हाइजिन र मिन्सुरेशन हाइजिन कीट वितरण गरिने उनले बताए । भावनात्मक सहयोगका लागि रेजिलेन्स कीट पाँच वटा विद्यालयमा वितरण गरिसकिएको छ भने थप एउटा स्कुलमा बांडिँदै छ । स्वास्थ्यकर्मी र स्वयमसेविकालाई पिपिइ पनि वितरण गरिंदै छ ।
कुल तीन महिने अवधिको कार्यक्रमको कार्यअवधि अब डेढ महिना बाँकी छ । बाढीपछि स्थानीय स्तरमा उपलब्ध खानेपानीको गुणस्तर जाँच गर्न पानी परीक्षण पनि गरिएको थियो ।






















