राजनीति
खेलकुद राष्ट्र निर्माण, आर्थिक समृद्धि र युवा सशक्तीकरणको महत्वपूर्ण आधार हो :नैनसिंह महर

डडेल्धुरा, मंसिर ५ –
नेपाली कांग्रेसका नेता एवं खेलकुद विकास समिति डडेल्धुराका पूर्वसचिव नैनसिंह महरले खेलकुदलाई राष्ट्र निर्माण, आर्थिक समृद्धि र युवा सशक्तीकरणको महत्वपूर्ण आधारका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।
भागेश्वर गाउँपालिकाको आयोजनामा सञ्चालित जिल्ला स्तरीय खुला भलिबल प्रतियोगिता तथा बृहत् सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै महरले खेलकुदले व्यक्तिको शारीरिक तथा मानसिक स्वास्थ्य सुदृढ बनाउनुका साथै अनुशासन, नेतृत्व क्षमता, सामूहिक भावना, प्रतिस्पर्धात्मक सोच र राष्ट्रिय एकताको भावना विकास गर्ने उल्लेख गरे ।
खेलकुद स्वस्थ, अनुशासित र सक्षम नागरिक निर्माण गर्ने प्रभावकारी माध्यम भएको उनको भनाइ थियो ।
उनले विश्व खेलकुद अर्थतन्त्र बहुआयामिक आर्थिक क्षेत्रका रूपमा विस्तार भइरहेको उल्लेख गर्दै नेपालले खेलकुदलाई मनोरञ्जन र पदक प्राप्तिमा मात्र सीमित नराखी पर्यटन, रोजगारी, उद्यमशीलता, पूर्वाधार विकास र राष्ट्रिय अर्थतन्त्रसँग जोड्नुपर्ने धारणा राखे ।
नेपालमा राष्ट्रिय खेलकुद विश्वविद्यालय स्थापना गरी खेल विज्ञान, अनुसन्धान, प्रशिक्षक उत्पादन र खेल व्यवस्थापनलाई संस्थागत गर्नुपर्नेमा जोड दिँदै उनले स्थानीय तहदेखि नै व्यवस्थित खेल पूर्वाधार, नियमित प्रशिक्षण र प्रतिभाशाली खेलाडीलाई अवसर उपलब्ध गराउनुपर्ने बताए ।
महरले डडेल्धुरालगायत सुदूरपश्चिममा खेलकुद र खेल पर्यटनको ठूलो सम्भावना रहेको उल्लेख गर्दै स्थानीय प्रतियोगितालाई प्रतिभा पहिचान, युवाको क्षमता विकास, पर्यटन प्रवद्र्धन र स्थानीय अर्थतन्त्र चलायमान बनाउने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए ।
‘खेलकुदमा लगानी भनेको केवल खेलाडी उत्पादनमा लगानी होइन, यो स्वस्थ समाज, सक्षम युवा, अनुशासित नागरिक र समृद्ध राष्ट्र निर्माणमा गरिएको लगानी हो,’ महरले भने।
उनले खेलकुदसँगै स्थानीय कला, संस्कृति र मौलिक परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्न यस्ता प्रतियोगिता र सांस्कृतिक कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
























