Breaking News

बालेन सरकार बर्खामा उम्रिएको चुच्चे च्याउ हो, कुहिएर सकिन्छः महेश बस्नेत

०
Banner

काठमाडौं, मंसिर ५ –

नेकपा (एमाले) का सचिव महेश बस्नेतले वर्तमान सरकारले एक वर्ष पनि नटिक्ने दाबी गर्नुभएको छ ।

एमालेको जनवर्गिय संगठन नेशनल भोलेन्टियर्स संघको स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले वर्तमान सरकारलाई वर्षायाममा उम्रिएको चुच्चे च्याउको संज्ञा दिनुभएको हो । उहाँले वर्षायामको च्याउ घाम लागेपछि आफै मरेर जाने उल्लेख गर्दै वर्तमान सरकार पनि लामो समय टिक्न नसक्ने दाबी गर्नुभयो । उहाँले वर्तमान सरकारले सुकुम्बासीलाई दिएको आश्वासन पूरा नगरेको पनि आरोप लगाउनु भयो । सुकुम्बासीका घर भत्काएर उनीहरूलाई वर्षायाममा सडकमा बस्न बाध्य पारिएको भन्दै उहाँले सरकारविरुद्ध जनआक्रोश बढिरहेको दाबी गर्नुभयो । उहाँले बंगलादेशमा हाल भईरहेको आन्दोलनको प्रसंग निकाल्दै उहाँले सुकुम्बासी, गरिब तथा युवाहरूको माग सरकारले सम्बोधन नगरे नेपालमा पनि उक्त घटना हुनसक्ने बताउनु भयो । उहाँले सरकारले भोटेकोशीका बाढीपीडितलाई राहत दिन नसकेको पनि बताउनु भयो । प्रधानमन्त्री राहत कोषमा १७ अर्ब जम्मा भएपनि बाढीपीडितले खान नपाएर भोकै बस्न परेको उहाँको भनाई छ । उहाँले वैदेशिक शक्तिहरुले एमालेविनाको देश बनाउन खोजेको पनि आरोप लगाउनु भयो । तर एमाले विनाको देश र केपी ओली विनाको एमाले बनाउन कसैले नसक्ने उहाँको दाबी छ । वैदेशिक शक्तिहरूले ओली र एमालेमाथि आक्रमण गरेर ओलीबिनाको नेपाल, एमाले र युवा शक्ति निर्माण गर्न खोजेको उहाँको आरोप छ । उहाँले एमालेभित्र ओलीको विकल्प खोज्नेलाई कार्यकर्ताले अस्वीकार गरिसकेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘वैदेशिक शक्तिहरुले केपी ओलीमाथि आक्रमण गरे । नेकपा (एमाले) माथि आक्रमण गरे । केपी ओली बिनाको नेपाल बनाउन खोजे, केपी ओली बिनाको एमाले बनाउन खोजे, केपी ओली बिनाको युवा बनाउन खोजे, यो सम्भव छैन । यो सम्भव छैन भनेर अघिल्लो वर्ष मंसिर ५ गते हामीले उद्घोष गर्यौँ । ‘केपी बा, वी लभ यु’ भनेर युवाहरुले भने । ‘युवा बिनाको केपी ओली सम्भव छैन, हामी तपाईँको साथमा छौँ’ भनेर भने । आज आफ्नो स्थापना दिवसमा राजधानी कमिटीको गठन गरेर फेरि आज युवाहरुले दोहोर्याए । ‘आज होइन भोलिलाई तपाईँले सकेसम्म यो देश तपाईँले जिम्मा लिनुपर्छ’ भनेर आज युवाहरुले उद्घोष गरे । केपी ओली बिनाको युवा, युवा बिनाको केपी ओली अपुरो हुन्छ भन्ने कुरा युवाहरुले प्रमाणित गरे । नेकपा (एमाले) केपी ओली बिनाको बनाउन खोजियो । हामीले नेकपा ९एमाले० को केन्द्रीय कमिटीको बैठक बस्यौँ, राष्ट्रिय कार्यकर्ता भेला गर्यौँ र सर्वसम्मत ढंगले भन्यौँ, नेकपा (एमाले) मा केपी ओलीको विकल्प कसैले खोज्छ भने त्यसको विकल्प कार्यकर्ताले खोज्नेछन्, त्यसको विकल्प नेताहरुले खोज्नेछन् । त्यही भएर अहिले असमयिक ढंगले केपी ओलीको विकल्प खोज्नेहरुलाई आम राष्ट्रिय कार्यकर्ता भेलाबाट एउटा सन्देश हामीले दिएका छौँ । यो देशमा केपी ओली बिनाको मुलुक बनाउने सपना बाँडेर भ्रमको खेती गर्नेहरुलाई आज भ्रमबाट मुक्त भएका छन् । गाउँतिर भन्ने गरिन्छ, छाता ढालेको च्याउ र बर्खामा उम्रिएको च्याउको फरक हुन्छ । अहिले बालेन सरकार छ, यो बर्खामा उम्रिएको चुच्चे च्याउ हो । यो कुनै छाता ढालेको च्याउ होइन । बर्खा सकिए पछाडि जब घाम लाग्न थाल्छ, त्यसपछाडि यो च्याउ मरेर सकिन्छ । त्यही भएर यो हात न भुट्टामा आएको सरकार यो एक वर्ष पनि टिक्दैन ।’

उहाँले केपी ओलीले देश विकास गरेको देखेर प्रतिक्रियावादी शक्तिहरुले षडयन्त्र गरेको आरोप लगाउनु भयो । केपी ओली राष्ट्रियताको प्रतिकको रुपमा भुमिका खेलेको उहाँको दाबी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>