Breaking News

घोषणापत्रका प्रतिवद्धता कार्यान्वयन गर्ने समय आयोः रवि लामिछाने

०
Banner

जनकपुरधाम,कात्तिक ३० –

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले चुनावी घोषणापत्र र नारामा सिमित भएका प्रतिवद्धतालाई व्यवहारमा कार्यान्वयन गर्ने समय आएको बताउनुभएको छ ।

उहाँले जनताले दिएको मतलाई जिम्मेवारीका रूपमा लिँदै मधेससहित देशभरका समस्या प्राथमिकताका आधारमा समाधान गर्न पार्टीले नीतिगत काम अघि बढाउने बताउनुभएको हो । सोमवार जनकपुरधाममा पार्टीका सांसद डा। अमरेशकुमार सिंहको मेची–महाकाली पदयात्राका लागि झण्डा हस्तान्तरण कार्यक्रममा बोल्दै लामिछानेले नयाँ कानून निर्माण, विद्यमान कानूनको सुधार तथा नागरिकका हकअधिकार सुनिश्चित गर्ने कामलाई प्राथमिकता दिने बताउनु भयो । उहाँले घोषणापत्रमा धेरै कुरा लेखिए पनि ती प्रतिवद्धतालाई व्यवहारमा उतार्नु मुख्य चुनौती रहेको उल्लेख गर्नुभयो । लामिछानेले मधेस र सिङ्गो देशका समस्यालाई प्राथमिकताका आधारमा सम्बोधन गर्नुपर्ने बताउँदै त्यसका लागि नीतिगत सुधार आवश्यक रहेको बताउनु भयो । पार्टीको काँधमा ठूलो जिम्मेवारी आएको उल्लेख गर्दै उहाँले काम गर्ने क्रममा कमजोरी भए सच्याएर अघि बढ्ने बताउनु भयो ।

सभापति लामिछानेले भन्नुभयो, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले मधेससहित सिङ्गो देशका समस्या पहिचान गरी आवश्यकता र प्राथमिकताका आधारमा नीतिगत सुधार गर्नेछ । नयाँ कानून निर्माण, विद्यमान कानूनको परिमार्जन र नागरिकका हकअधिकार सुनिश्चित गर्नु हाम्रो प्रमुख जिम्मेवारी हो । घोषणापत्रका प्रतिवद्धतालाई व्यवहारमा उतार्ने यात्रा शुरु भइसकेको छ । चुनौती आए पनि सम्हालिँदै अघि बढ्छौँ ।’

उहाँले संघीय शासन व्यवस्थाभित्र प्रदेश संरचनालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा राष्ट्रिय बहस आवश्यक रहेको पनि बताउनु भयो । प्रदेश संरचनालाई बलियो बनाउने विषयमा रास्वपाले विगतदेखि नै धारणा राख्दै आए पनि त्यसबापत विभिन्न आक्षेप खेप्नुपरेको उहाँको भनाइ छ । उहाँले प्रदेश सरकारहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने, प्रदेशको भूमिका थप स्पष्ट बनाउने र स्थानीय तहलाई नागरिकका आवश्यकताअनुसार अधिकारसम्पन्न बनाउने विषयमा छलफल अघि बढाइने बताउनु भयो । प्रदेश संरचनाको सुधार र पुनरावलोकनको विषय उठाउँदा अनावश्यक रूपमा तर्सिने वा त्यसको गलत अर्थ लगाउने प्रवृत्ति रहेको भन्दै उहाँले यस्ता बहसबाट पछि हट्न नहुने बताउनु भयो । लामिछानेले रास्वपाले यस विषयमा छिट्टै राष्ट्रिय बहस शुरु गर्ने र अन्य राजनीतिक दल तथा शक्तिहरूसँग सहकार्य गर्दै सहमतिका आधारमा अघि बढ्ने पनि बताउनु भयो ।

सभापति लामिछानेले भन्नुभयो, ‘अब प्रदेश संरचनालाई कसरी मजबुत बनाउने, त्यसलाई जनताको जीविकासँग कसरी जोड्ने र स्थानीय तहलाई थप अधिकारसम्पन्न कसरी बनाउने भन्ने विषयमा राष्ट्रिय बहस आवश्यक छ । प्रदेश सरकारहरूलाई स्थिर र प्रभावकारी बनाउँदै संघीय संरचनामा आवश्यक सुधार गर्नुपर्छ । यी विषयमा हुने बहसलाई गलत अर्थमा बुझ्नु हुँदैन । रास्वपाले सबै राजनीतिक दल र शक्तिसँग संवाद तथा सहकार्य गर्दै सहमतिका आधारमा यो बहस चाँडै अघि बढाउनेछ ।’

उहाँले जनताले रास्वपालाई दिएको मतलाई निर्विकल्प जिम्मेवारीका रूपमा व्याख्या गर्दै आवश्यकता र प्राथमिकता पहिचान गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>