चितवन विशेष
नारायणगढ जेसीजको स्वर्ण जयन्ती समारोह सम्पन्न

चितवन, कात्तिक ३०-
नारायणगढ जेसीजको ५० वर्षे गौरवमय यात्राको ऐतिहासिक अवसरमा आयोजित स्वर्ण जयन्ती समारोह सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसीज वर्ष १९९० का राष्ट्रिय अध्यक्ष विकलप्रसाद शेरचन तथा विशिष्ट अतिथि नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष एवं कार्यवाहक राष्ट्रिय अध्यक्ष स्वप्ना पौडेल भण्डारीको उपस्थिति रहेको थियो।
कार्यक्रममा नारायणगढ जेसीजका संस्थापक अध्यक्ष महेन्द्रलाल प्रधान, स्वर्ण जयन्ती समारोह संयोजक सुदीप सिंह अधिकारी, निवर्तमान शाखा अध्यक्ष रविन्द्रकुमार श्रेष्ठ, बोर्ड अफ ट्रस्टीका संयोजक उत्तमलाल चुके, नेपाल जेसीजका राष्ट्रिय पदाधिकारीहरू, छिमेकी शाखाका अध्यक्ष तथा पदाधिकारीहरू, नारायणगढ जेसीजका पूर्व अध्यक्षहरू एवं सम्पूर्ण जेसीज परिवारको उल्लेखनीय उपस्थिति रहेको थियो।
नारायणगढ जेसीजको स्वर्ण जयन्ती महोत्सव समारोह वर्ष २०२५ का शाखा अध्यक्ष रविन्द्रकुमार श्रेष्ठबाट उद्घाटन भई विभिन्न कार्यक्रमहरूका साथ अगाडि बढेको थियो। सोही स्वर्ण जयन्ती महोत्सवको समापन वर्ष २०२६ का शाखा अध्यक्ष सन्तोष पण्डितको सभापतित्वमा सम्पन्न कार्यक्रममा नारायणगढ जेसीजका सम्पुर्ण पूर्व अध्यक्षहरूलाई परिवारसहित सम्मान गरिएको थियो।
नारायणगढ जेसीजबाट मातृत्व प्राप्त गरेका शाखाहरूबाट नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष बन्न सफल भएका पूर्व राष्ट्रिय अध्यक्षहरु सिनेटर दिनेश कोइराला, सिनेटर महेश दाहाल तथा सिनेटर अरुणेश्वर खनाललाई विशेष सम्मान प्रदान गरिएको थियो।
त्यसैगरी, युवाहरूलाई खेलकुद क्षेत्रमार्फत प्रोत्साहन गर्दै भौतिक तथा आर्थिक सहयोगका माध्यमबाट खेलकुद क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुर्याउँदै भएका केलमी नेपालका प्रबन्ध निर्देशक उत्तम न्यौपानेलाई समेत विशेष सम्मान प्रदान गरिएको थियो।
५० वर्षको गौरवमय इतिहास, अनुभव र उपलब्धिलाई आत्मसात् गर्दै आगामी यात्रालाई अझ सशक्त, एकताबद्ध र उपलब्धिमूलक बनाउने प्रतिबद्धतासहित यो ऐतिहासिक समारोह सम्पन्न भएको बताइएको छ ।
























