Breaking News

अमेरिकामा लगाइएको देशव्यापी उडान प्रतिबन्ध हटाइयो

०
Banner

काठमाडौं ,कात्तिक २८ –

अमेरिकाको संघीय उड्डयन प्रशासन (एफएए)ले देशभरका विमानस्थलमा लगाएको उडान प्रतिबन्ध हटाएको छ । दूरसञ्चार प्रणालीमा आएको प्राविधिक समस्याका कारण हजारौं उडान प्रभावित भएपछि शुक्रबार लगाइएको देशव्यापी प्रतिबन्ध हटाइएको हो ।

अमेरिकी यातायात सचिव सीन डफीले पत्रकार सम्मेलनमार्फत उडान प्रतिबन्ध हटाइएको जानकारी दिएका हुन् । उनका अनुसार हवाई यातायात नियन्त्रण केन्द्र तथा टर्मिनल राडार प्रणालीमा देखिएको अस्थिरता क्रमशः व्यवस्थापन गरिएको छ ।

डफीका अनुसार स्थानीय समयअनुसार दिउँसो ३ बजेर ३६ मिनेटमा देशभरका हवाई यातायात नियन्त्रण केन्द्रमा राडार तथा सञ्चार प्रणालीमा समस्या देखिएको थियो । विमानबाट प्राप्त हुने सञ्चार संकेत र राडारको तथ्यांकमा असंगति देखिएपछि यात्रुको सुरक्षालाई ध्यानमा राख्दै उडान रोक्ने निर्णय गरिएको थियो ।

उडान रोक्ने आदेश जारी हुँदा ३ हजार ५०० भन्दा बढी विमान आकाशमा थिए । ती विमानलाई सुरक्षित रूपमा अवतरण गराउन सम्बन्धित निकायले समन्वय गरेका थिए । पत्रकार सम्मेलनका समयमा ४०० भन्दा कम विमान मात्रै आकाशमा रहेको डफीले जानकारी दिए ।

दूरसञ्चार प्रणालीमा आएको समस्याका कारण करिब ७ हजार उडान ढिलाइ वा रद्द भएको उडान ट्र्याकिङ प्लेटफर्म फ्लाइटअवेयरले जनाएको छ । डफीले अमेरिकाको हवाई यातायात नियन्त्रण प्रणालीमा प्रयोग भइरहेको पुरानो एनालग दूरसञ्चार प्रविधिका कारण समस्या उत्पन्न भएको बताएका छन् । अत्यधिक डेटा प्रवाह हुँदा पुराना राउटर तथा स्विचहरूले असंगत तथ्यांक प्रसारण गर्न थालेपछि उडान रोक्नुपरेको उनको भनाइ छ ।

उनले हवाई यातायात नियन्त्रण प्रणालीको पूर्ण आधुनिकीकरणका लागि कंग्रेससँग पर्याप्त बजेट माग गरेका छन् । सामान्य मर्मतले मात्रै समस्या समाधान नहुने भन्दै उनले नयाँ प्रणाली निर्माण गर्नुपर्ने बताएका छन् ।

यसैबीच, अमेरिकी गृह सुरक्षा सचिव मार्कवेन मुलिनले उक्त घटना साइबर आक्रमण वा राष्ट्रिय सुरक्षा खतराका कारण भएको कुनै प्रमाण अहिलेसम्म नदेखिएको बताएका छन् । उनले माइक्रोसफ्टको प्राविधिक अवरोधसँग पनि यस घटनाको सम्बन्ध नरहेको स्पष्ट पारेका छन् ।

उडान अवरोधका कारण यात्रुलाई आवश्यक औषधि तथा अन्य सहयोग उपलब्ध गराउन संघीय आपत्कालीन व्यवस्थापन निकाय ९फेमा०ले सहायता केन्द्र सक्रिय बनाएको पनि उनले जानकारी दिए ।

यस घटनाले अन्तर्राष्ट्रिय उडानमा समेत असर पारेको छ । एयर इन्डियाले अमेरिकाका विमानस्थलमा उडान रोकिँदा अमेरिका जाने तथा त्यहाँबाट फर्किने आफ्ना उडान प्रभावित हुन सक्ने भन्दै यात्रुलाई विमानस्थल जानुअघि उडानको अवस्था जाँच गर्न आग्रह गरेको छ । एएनआई

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>