Breaking News
आज विराटनगर र लुम्बिनी भिड्दै , विराटनगर हारे प्लेअफ समीकरण पूरा हुने सम्भावना

काठमाडौ,कात्तिक २८-
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा शनिबार (आज) एक खेल हुँदैछ। कीर्तिपुरस्थित त्रिवी क्रिकेट स्टेडियममा लुम्बिनी लाइन्स र विराटनगर किंग्सले खेल्दैछन्। यी दुई टोलीले अपरान्न ५ बजे खेल्नेछन्।
साविक विजेता लुम्बिनी लायन्सले एक खेल अगावै प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ। त्यस्तै,विराटनगर किंग्सलाई भने लुम्बिनी लायन्सलाई पराजित गर्दै प्लेअफमा स्थान बनाउने अवसर रहेको छ। हाल अंकतालिकामा लुम्बिनी लायन्सले छ खेल खेल्दै चार जित एक खेलमा हार र एक खेलमा अंक बाँड्दै नौ अंक लिएर तालिकाको दोस्रो स्थानमा रहेको छ। विराटनगर किंग्सले समान छ खेलमा तीन जित र तीन हारसहित ६ अंक लिएर पाँचौं स्थानमा रहेको छ। आजको यो प्लेअफ समीकरण पूरा गर्ने खेल पनि हुनसक्छ। यदि लुम्बिनी लायनसँग विराटनगर किङ्स पराजित भएको खण्डमा शीर्ष ४ को टुङ्गो लाग्नेछ।
सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सले प्लेअफमा स्थान बनाइसकेका छन्। अब प्लेअफको बाँकी दुईवटा स्थानको लागि काठमाडौँ गोर्खाज, चितवन राइनोज र विराटनगर किंग्स मध्ये दुई टोलीले स्थान बनाउनेछन्। काठमाडौँ गोर्खाज र चितवन राइनोजको १/१ खेल बाँकी छ। विराटनगर किंग्स र लुम्बिनी लायन्सको आज हुने खेल लिग चरणको दुवै टोलीको लागि सातौं अथवा अन्तिम खेल हो।
लुम्बिनी लायन्स विराटनगर किंग्समाथि जित दर्ता गर्दै शीर्ष दुई भित्र पर्ने दाउमा हुन्छ। त्यस्तै विराटनगर किङ्स लुम्बिनी लायन्सलाई पराजित गर्दै प्लेअफ समीकरणको दौड कायम राख्न चाहन्छ । यदि विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई पराजित गरेको खण्डमा प्लेअफ समीकरण पुरा हुन काठमाडौँ गोर्खाज र चितवन राइनोजको लिग चरणको अन्तिम खेलहरु कुर्नुपर्ने हुन्छ।
तर, यदि विराटनगर किंग्स लुम्बिनी लायन्ससँग पराजित भएको खण्डमा भने एनपीएल को तेस्रो संस्करणको प्लेअफ खेल्ने टोलीहरूको टुङ्गो लाग्नेछ। हाल शीर्ष ४ मा सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स, काठमाडौँ गोर्खाज र चितवन राइनोज रहेका छन्। यी चार टोलीको क्रमश १०,९ , ८ र ७ अंक रहेका छ।
विराटनगरसँग ६ अंक रहेको छ। यसर्थ, विराटनगर किंग्सले प्लेअफ समीकरणको होडमा कायम रहन लुम्बिनी लायन्सलाई पराजित गर्नुपर्ने हुन्छ। त्यस्तै लुम्बिनी लायन्सले भने शीर्ष २ को होड बाँकी राख्नको लागि विराटनगर किंग्सलाई पराजित गर्नुपर्ने हुन्छ। कर्णाली याक्स, जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भने प्लेअफ समीकरणबाट बाहिरिसकेका छन्।
























