चितवन विशेष
चितवन राष्ट्रिय निकुञ्जमा ८५ हेक्टर घाँसेमैदान व्यवस्थापन, जीप सफारीमा वन्यजन्तु देख्न सहज

चितवन, कात्तिक २७ –
जङ्गल सफारीका लागि चितवन राष्ट्रिय निकुञ्ज विश्वमै प्रख्यात छ । यहाँ जङ्गल सफारी गर्न स्वदेशी र विदेशी पर्यटक रुचाउँछन् । वर्षात सकिएसँगै जीप सफारी सञ्चालन गरिदैआएको छ ।
बर्सातको समयमा भने बाटो बिग्रने भएकाले निकुञ्जले जङ्गल सफारी बन्द गर्दैआएको छ । दसैँअघि निकुञ्जभित्रका सडक मर्मत सकेर जीप सफारी सञ्चालनमा आउने ल्याइने गरिएको छ । निकुञ्जले यस वर्ष बाटोसँगै घाँसेमैदानको व्यवस्थापनको काम पनि अघि बढाएको छ । त्यस कार्यले निकुञ्जभित्र जीपमा सफारी गर्नेले टाढा–टाढासम्मका वन्यजन्तु हेर्न सहज भएको छ ।
निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार यस पटक जीप सफारी सुरु गरिँदा बाटो छेउका ८५ हेक्टर घाँसेमैदान सफा गरिसकिएको छ । उहाँका अनुसार पहिलो प्राथमिकता जीप सफारी गर्ने बाटो छेउका घाँसेमैदानलाई दिइएको छ । सूचना अधिकारी तिवारीले भन्नुभयो, “सुरुमा बाटो नजिक सफा गरेर पछि भित्रि ठाउँको घाँसेमैदान व्यवस्थापन गर्दै छौँ ।” निकुञ्जभित्र सफा भएपछि जीप सफारी गर्नेले दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, गौरी गाई, भालु, मृग प्रजातीका चित्तललगायतका वन्यजन्तु, चरा सजिलै देख्न पाएका छन् ।
उहाँले निकुञ्ज घुम्न आउनेले सहजै वन्यजन्तु देख्न पाउन भन्न घाँसेमैदानको काम छिटो सुरु गरिएको बताउनुभयो । यस वर्ष जीपमा सफारी गर्नेले धेरै वन्यजन्तु देखिएको प्रतिक्रिया दिएको पनि उहाँले बताउनुभयो । निकुञ्जको कसराबाट २३ वटा, मेघौलीबाट १३ वटा र सौराहाबाट ३२ वटा जीप निकुञ्जभित्र सेवा दिँदैआएका छन । ती जीपबाट सौराहाबाट कसरा, कसराबाट रिउ खोला किनार सम्म र भित्रि भागमा पर्यटक घुमाउने गरिएको छ । रिउ खोलाको पानी नघटेकाले नवलपरासी तिरबाट भने जीप छिर्न सकेका छैनन् । छिट्टै रिउ खोलामा बाटो बनाएर अमलटारीसम्म जीप पु¥याइने तिवारीको भनाइ छ । चितवन निकुञ्ज दुर्लभ एकसिङ्गे गैँडा र पाटे बाघका लागि प्रख्यात छ । यहाँ सन् २०२५ को गणना अनुसार १४५ वटा पाटेबाघ छन् । देशभर यसको सङ्ख्या ४२९ छ । यस्तै एक सिङ्गे गैँडा यहाँ ६९४ वटा छन् । देशभर गैँडाको सङ्ख्या ७५२ रहेको छ ।
पाँच वर्षयता गैँडाको गणना नभएकाले यसको सङ्ख्या बढेको अनुमान छ । निकुञ्ज घुम्ने अधिकांश पर्यटकले गैँडालगायतका वन्यजन्तु सहजै देख्न सक्छन् भने कहिलेकाहीँ बाघसमेत देख्ने गरिएको छ । निकुञ्जमा बाघ देख्नेलाई भाग्यमानीसमेत भन्ने गरिएको छ । निकुञ्ज बाहिरका सामुदायिक वनमा समेत जीप र हात्ती सफारी गरिँदैआएको छ । चितवनमा पर्यटक डुङ्गा र पैदलका माध्यमबाट पनि निकुञ्ज घुम्ने गरेको पाइएको छ ।
























