चितवन विशेष

चौथो राप्ती नदी दिवस : मंसिर १ गते भीमफेदीदेखि गोलाघाटसम्म सरसफाइ अभियान

०
Banner

चितवन, कात्तिक २६-

राप्ती नदीको संरक्षण, स्वच्छता र जैविक विविधता प्रवर्द्धन गर्ने उद्देश्यका साथ आगामी मंसिर १ गते ‘चौथो राप्ती नदी दिवस–२०८३’ भव्य रूपमा मनाइने भएको छ ।

यस वर्ष दिवसको मूल नारा “स्वच्छ राप्ती र आदिवासी पहिचान, वन्यजन्तु र जलचर संरक्षण हाम्रो साझा अभियान” तय गरिएको छ । दिवसको अवसरमा सो दिन बिहान ८ बजेदेखि मकवानपुरको भीमफेदीदेखि चितवनको गोलाघाटसम्म राप्ती नदी किनारका विभिन्न स्थानहरूमा एकसाथ बृहत् सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरिने भएको छ ।

राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियान, चितवनको संयोजनमा तथा विभिन्न संरक्षण सम्बद्ध निकाय, स्थानीय तह र संघसंस्थाहरूको समन्वयमा कार्यक्रम हुन लागेको हो ।

मकवानपुरको भीमफेदी क्षेत्रबाट उद्गम भई हेटौंडा, मनहरी र चितवन राष्ट्रिय निकुञ्ज हुँदै पश्चिम चितवनको गोलाघाटस्थित नारायणी नदीमा मिसिने राप्ती नदी अति संकटापन्न घडियाल गोही, दुर्लभ ओत, कछुवा, विभिन्न प्रजातिका माछा तथा रैथाने एवं आगन्तुक चराचुरुङ्गीहरूको महत्वपूर्ण बासस्थान हो । साथै, नदी तटीय क्षेत्रमा बसोबास गर्ने आदिवासी समुदायको जीवनयापन, संस्कृति र पहिचानसँग समेत राप्ती नदीको गहिरो सम्बन्ध रहेको छ ।

नदीमा बढ्दो मानवीय चाप र प्लास्टिकजन्य फोहोरको प्रदूषण न्यूनीकरण गरी जलचर तथा वन्यजन्तुको बासस्थान सुरक्षित राख्न हरेक वर्ष मंसिर १ गते राप्ती नदी दिवस मनाउँदै आइएको छ । आयोजकले बिहान ८ बजे आ–आफ्नो पायक पर्ने राप्ती किनारका स्थानहरूमा उपस्थित भई नदी संरक्षणको यस साझा अभियानमा सहभागी हुन सम्पूर्ण स्थानीयवासी, संरक्षणकर्मी, युवा तथा सरोकारवाला निकायहरूलाई हार्दिक आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>