Breaking News

अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने रोनाल्डोको घोषणा

०
Banner

काठमाडौं , कात्तिक २०-

पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । उनले बिहीवार सामाजिक सञ्जाल इन्स्टाग्राममा भिडियो सन्देश सार्वजनिक गर्दै पोर्चुगल राष्ट्रिय टोलीबाट आफ्नो २३ वर्ष लामो अन्तर्राष्ट्रिय करियर अन्त्य गर्ने बताएका हुन् ।

रोनाल्डोले पोर्चुगलका लागि खेल्ने अवसर आफ्नो जीवनकै गौरवपूर्ण अनुभव भएको उल्लेख गर्दै अब प्रतिष्ठित सात नम्बरको जर्सी अर्को पुस्तालाई हस्तान्तरण गर्ने समय आएको बताएका छन् । उनले यो निर्णय भावनात्मक भए पनि आफ्नो अन्तर्राष्ट्रिय यात्राको स्वाभाविक अन्त्य भएको बताएका छन् ।

सन् २००३ अगस्टमा कजाखस्तानविरुद्ध वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गर्दै अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका रोनाल्डोले त्यसपछि पोर्चुगलको राष्ट्रिय टोलीको नेतृत्वसमेत गरे ।

२३ वर्षको अन्तर्राष्ट्रिय करियरमा उनले २३४ खेल खेल्दै १४६ गोल गरेका छन् । पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने दुवै कीर्तिमान रोनाल्डोकै नाममा छन् ।

उनको नेतृत्वमा पोर्चुगलले सन् २०१६ मा युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो । त्यस्तै, सन् २०१९ मा यूईएफए नेसन्स लिगको उपाधिसमेत जितेको थियो । रोनाल्डोले आफ्नो अन्तर्राष्ट्रिय करियरमा युरोपियन च्याम्पियनसिपका ६ र फिफा विश्वकपका ६ संस्करण खेलेका छन् । किशोर उमेरमा राष्ट्रिय टोलीमा प्रवेश गरेका उनी पोर्चुगल फुटबल इतिहासकै सर्वाधिक सफल खेलाडीमध्ये एक बनेका छन् । एएनआई

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>