चितवन विशेष
मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

चितवन, असोज २९-
पर्यटकीय नगरी चितवनको सौराहामा चर्चित ब्याण्ड नेपथ्य गुञ्जिने भएको छ । नेपथ्यको धुन सौराहाको सान, पर्यटन प्रवर्द्धन हाम्रो अभियान भन्ने नारासहित नेपाल डायरिज र एबी ईभेन्ट्सको आयोजनामा सौराहामा नेपथ्यको कार्यक्रम हुन लागेको हो ।
कार्यक्रम सौराहास्थित सभाहल अगाडिको सिसुवार मैदानमा हुनेछ । पर्यटकीय नगरी सौराहामा पहिलो पटक नेपथ्यको कार्यक्रम हुन लागेको आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिईएको छ । कार्यक्रम दिउँसो ४ बजेबाट सुरु हुने नेपाल डायरिजका निर्देशक बिनेश थापाले जानकारी दिए ।
कार्यक्रम १० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ । चितवनसहित छिमेकी नवलपरासी बर्दाघाट सुस्ता पूर्व र पश्चिम, तनहुँ, मकवानपुरलगायतका जिल्लाबाट दर्शकहरु कार्यक्रममा सहभागी हुने आयोजकको अपेक्षा छ । कार्यक्रमका लागि फरक फरक विधाका टिकटको व्यवस्था गरिएको छ ।
विद्यार्थीका लागि सहुलियत दरको टिकटसहित अर्लि बर्ड, रेगुलर र भिआईपी गरी विभिन्न विधामा टिकटको व्यवस्था गरिएको छ । सहुलियत दरका अर्लि बर्ड टिकटको कोटा सकिने लागेको थापाले जानकारी दिए । सीमित मात्रामा राखिएका अन्य टिकटहरु पनि धमाधम बिक्री भईरहेको नेपाल डायरिजका निर्देशक आशिश श्रेष्ठले जानकारी दिए ।
सौराहामा नै पहिलो पटक दर्शकका लागि प्याराफिट समेत निर्माण गरिने एबी ईभेन्ट्सका निर्देशक अंकित गौतमले बताए । पर्यटन र संगितलाई जोडेर हुन लागेको कार्यक्रमको तयारी तीव्र गतिमा भईरहेको छ ।

























