स्वास्थ्य
एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड

काठमाडौँ, मंसिर ४ –
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोगले सङ्क्रमण उपचारमा चुनौती थप्नुका साथै स्वास्थ्य प्रणालीमा आर्थिक भार बढाउँदै लगेको बताउनुभएको छ ।
विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताह २०२६ को अवसरमा आज स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोगले सङ्क्रमणको उपचार कठिन बनाउनुका साथै उपचार खर्च बढाउने बताउनुभएको हो ।
उहाँले यसको नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्दै सङ्घ, प्रदेश र स्थानीय तहसम्म समन्वित प्रयास आवश्यक रहेको बताउनुभयो ।
एन्टिमाइक्रोबियल रेसिस्टेन्स ९एएमआर० नियन्त्रणका लागि औषधिको विवेकपूर्ण प्रयोग, प्रभावकारी नियमन र स्वास्थ्य, कृषि तथा पशुपन्छी क्षेत्रबीच समन्वय आवश्यक रहेको मन्त्री मेहताले बताउनुभयो । उहाँले भन्नुभयो, “एएमआर कुनै एक क्षेत्रको मात्र समस्या नभई मानव, पशुपन्छी, वनस्पति, खाद्य प्रणाली र वातावरणसँग जोडिएको साझा चुनौती बनेको छ ।”
कार्यक्रममा मन्त्री मेहताले ‘नेपालका अस्पतालहरूमा एन्टिमाइक्रोबियल औषधिको प्रयोगसम्बन्धी सर्वेक्षण’ दस्तावेज सार्वजनिक गर्नुभयो । यस अध्ययनले अस्पतालहरूमा औषधि प्रयोग तथा चिकित्सकीय सिफारिसको अभ्यासबारे व्यवस्थित तथ्याङ्क सङ्कलन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै सर्वेक्षणले अस्पतालमा एन्टिमाइक्रोबियल औषधिको विवेकपूर्ण प्रयोग प्रवर्द्धन गर्न तथा प्रमाणमा आधारित नीति निर्माणमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
मन्त्री मेहताले एएमआर नियन्त्रणका लागि औषधिको प्रयोगमा नियामकीय निगरानी कडा बनाउनुका साथै खोप, सङ्क्रमण रोकथाम तथा नियन्त्रण र सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छताका अभ्यासलाई पनि प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
हरेक वर्ष नोभेम्बर १८ देखि २४ तारिखसम्म मनाइने विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताह यस वर्ष ‘एक स्वास्थ्य, एक अभियानस् प्रतिरोधको आजैबाट रोकथाम’ भन्ने मूल नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
























