राजनीति
नेपाल–फ्रान्स संसदीय सम्बन्ध सुदृढ बनाउने विषयमा मन्त्री सोविता गौतम र फ्रान्सेली संसदीय प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट

काठमाडौं, मंसिर ४ –
कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग नेपाल भ्रमणमा रहनुभएकी फ्रान्स-नेपाल संसदीय मैत्री समूहकी अध्यक्ष MP Madam Béatrice Piron, उपाध्यक्ष MP Madam Graziella Melchior र नेपालका लागि फ्रान्सेली राजदूत Françoise Puig-Unza ले शिष्टाचार भेट गर्नुभएको छ।
मन्त्री गौतमले फ्रान्समा पछिल्ला दिनमा भएका प्रदर्शनका घटना बारे चिन्ता व्यक्त गर्नुभयो। भेटका क्रममा फ्रान्सेली प्रतिनिधिमण्डलले नेपालमा भएको प्राकृतिक विपद्को घटनाप्रति समवेदना व्यक्त गर्नुभयो।
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय संसदसँग सम्पर्क गर्ने मन्त्रालय भएकाले भेटमा नेपाल र फ्रान्सका संसदीय प्रक्रिया र अभ्यासबारे अनुभव आदानप्रदान भयो। त्यस क्रममा कानून निर्माणमा सांसदहरूले गर्ने प्रविधिको प्रयोग र विधेयक स्वीकृतिका लागि संसदमा अपनाइने कार्यविधिबारे दुवै पक्षबीच छलफल भयो।
फ्रान्सेली प्रतिनिधिमण्डलले नेपालको राजनीतिक परिवर्तनमा महिलाहरूले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको पनि प्रशंसा गर्नुभयो।
भेटमा दुवै पक्षले नेपाल र फ्रान्सबीचको द्विपक्षीय सहयोगलाई थप सुदृढ बनाउँदै आपसी समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
























