देश/प्रदेश
लामो बिदाका कारण नेपालगञ्जमा रगत अभाव

बाँके, मंसिर ४ –
चाडपर्व लक्षित लामो बिदाका कारण नेपालगञ्जमा रगतको अभाव हटन सकेको छैन ।
नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्तसञ्चार केन्द्र, नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीले रगतको अभाव हटाउन नियमित रक्तदान कार्यक्रम अनिवार्य भएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “नेपालगञ्जका अस्पतालका लागि मात्रै दैनिक ७० देखि ८० पिन्ट रगत माग हुन्छ तर त्योभन्दा निकै कम मात्रामा रगत मौज्दात रहेको छ”, प्रमुख रेग्मीले लुम्बिनीसहित सुदूरपश्चिम र कर्णाली प्रदेशका बिरामीलाई समेत रगत पु¥याउनुपर्ने दायित्व भएको जानकारी दिँदै संस्थागत रक्तदानले संस्थालाई बल पुग्ने बताउनुभयो ।
उक्त रक्तसञ्चार केन्द्रले खजुरा र कोहलपुरका शाखाबाट समेत रगत सङ्कलन गरेको छ । उहाँले कतिपय घटनामा बिरामीका लागि सट्टापट्टा हुने गरी रगत लिने दिने भइरहेको उल्लेख गर्दै रगतको अभाव हटाउन रक्तदान बढाउन जरुरी भएको बताउनुभयो ।
“अहिले केही संस्थाले फाटफुट रुपमा रक्तदान गरिरहेका छन् तर यो प्रर्याप्त छैन”, रेग्मीले भन्नुभयो । उहाँले केहीदिनमा अर्को संस्थाले पनि रक्तदान गर्न लागेको जानकारी दिँदै केही पिन्ट रगत त्यहाँबाट पनि सङ्कलन हुने बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्तसञ्चार केन्द्र, नेपालगञ्जका अनुसार कोहलपुरमा आठ अस्पतालका लागि २० देखि २५ पिन्ट र खजुराका दुइ अस्पतालका लागि १० देखि १२ पिन्ट रगतको दैनिक माग भइरहेको छ । नेपालगञ्जका २७ अस्पतालका लागि करिब ८० पिन्ट रगतको माग भएको छ ।
नेपाल रेडक्रस सोसाइटी, बाँकेका सभापति गोवद्र्धन सम्झनाले विभिन्न प्रक्रियाबाट रक्तदान भइरहेको जानकारी दिँदै रगत लिने दिने प्रणालीबाट पनि समस्याको समाधान भइरहेको बताउनुभयो ।
उहाँले रगत अभावका कारण नेपालगञ्जमा ठूलो समस्या नआएको उल्लेख गर्दै आवश्यक पर्दा स्वयंसेवी रक्तदातामार्फत रगतको अभाव हटाइएको बताउनुभयो । पैतालीस पटकसम्म रक्तदान गर्नुभएका नेपालगञ्ज–९ निवासी झविन्द्र शर्माले रगत लिएपछि दिनु पनि पर्छ भन्ने भावनाको विकास सबैमा हुनुपर्ने उल्लेख गर्दै जन्मदिन र वैवाहिक उत्सवमा पनि रक्तदान गर्ने प्रचलन बढन थालेको बताउनुभयो । उहाँले कम्तीमा वर्षमा दुई पटक भए पनि रक्तदानका लागि कार्यक्रम बनाउन स्थानीय सरकारसँग आग्रह गर्नुभया ।
























