देश/प्रदेश
लागुऔषधसहित १७ जना पक्राउ

काठमाडौँ, मंसिर ४ –
झापा, दमक नगरपालिका–८ बसन्त मार्गबाट लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ एक ग्राम ४७० मिलिग्राम र नगद रु २७ हजारसहित दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही ठाउँ डेरा गरी बस्ने सोही नगरपालिका–६ घर भएका २६ वर्षीय मनिष शर्मा र २४ वर्षीय डिकबहादुर शर्मा रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले मनिषको कोठा तलासी गर्दा एक ग्राम ३३० मिलिग्राम उक्त पदार्थ र नगद रु १५ हजार तथा डिक बहादुरको कोठा तलासी १४० मिलिग्राम उक्त पदार्थ र नगद रु १२ हजार फेला परेपछि उनीहरूलाई पक्राउ गरिएको हो ।
यसैगरी, झापा शिवसताक्षी नगरपालिका–२ मङ्गलबारेबाट अवैध लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ ७३० मिलिग्रामसहित दमक नगरपालिका–७ बस्ने ३९ वर्षीय भीम सागर न्यौपानेलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीचौकी धरमपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका–८ सिर्जनचोकस्थित रोयल थकाली किचन होटलबाट नियन्त्रित लागुऔषध डाईजेपाम ३५ एम्पुल, नोर्फिन ३५ एम्पुल र फेनारगन ३५ एम्पुलसहित सोही महानगरपालिका–५ मालेपाटन बस्ने खोटाङ घर भएका २९ वर्षीय मिलन राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले होटलको २०१ नम्बरको कोठा तलासी गर्दा उनलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै, कास्की, पोखरा महानगरपालिका–१५ लक्ष्मीटोल डेरा गरी बस्ने स्याङ्जा बिरूवा गाउँपालिका–३ घर भएका ३० वर्षीय महेश गुरुङसमेत दुई जनालाई अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ चार ग्राम २०० मिलिग्राम र नियन्त्रित लागुऔषध ट्रामाडोल ११ ट्याब्लेटसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीसमेतबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त लागुऔषध फेला पारी पक्राउ गरेको हो ।
यसैगरी, कास्की, पोखरा महानगरपालिका–२६ साउनेपानी बस्ने २१ वर्षीय यमराय क्षेत्रीसमेत चार जनालाई अवैध लागुऔषध गाँजाजस्तो देखिने पदार्थ करिब ७०० ग्रामसहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले यमरायको कोठा तलासी गर्दा उक्त लागुऔषध फेला परेपछि उनीहरूलाई पक्राउ गरेको हो ।
ललितपुर, महालक्ष्मी नगरपालिका–५ टीकाथलीबाट अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब सात ग्राम ३१० मिलिग्राम र नगद रु १८ हजार ९५० सहित तीन जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने सर्लाही ईश्वरपुर नगरपालिका–५ घर भएका ३३ वर्षीय केशव गिरी, ललितपुर महालक्ष्मी नगरपालिका–७ चांगाथली बस्ने रूपन्देही बुटवल उपमहानगरपालिका–११ घर भएका २४ वर्षीय दर्शन भुषाल र काठमाडौँ बानेश्वर शान्तिनगर बस्ने सर्लाही ईश्वरपुर नगरपालिका–६ घर भएका ३२ वर्षीय पुर्ण शङ्कर गिरी रहेका छन् ।
प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सप्तरी, कञ्चनरूप नगरपालिका–९ बाट अवैध लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ ४५० मिलिग्रामसहित सोही नगरपालिका–९ बस्ने ३६ वर्षीय नारदमनी बरहीलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले प्रदेश २–०१–००३ प ६९३४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, इटहरी उपमहानगरपालिका–५ आइतबारेबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ आठ ग्राम ६५० मिलिग्रामसहित उदयपुर चौदण्डीगढी नगरपालिका–५ बस्ने ३४ वर्षीय उदित नारायण चौधरीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
रूपन्देही, रोहिणी गाउँपालिका–१ सिमरपानीबाट नियन्त्रित लागुऔषध डाईजेपाम ३२९ एम्पुल, बुप्रेनोर्फिन ३३६ एम्पुल र प्रोमेथाजाइन ३३७ एम्पुलसहित दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका २० वर्षीय कुलदीप सहानी र २० वर्षीय प्रदीप केवट रहेका छन् ।
लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले युपि ५६ एए ५२१० नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
























