Breaking News
लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा

लमजुङ, असोज २९-
बेँसीसहर नगरपालिका–३, गाउँसहरस्थित लमजुङ दरबारको कालिका भगवती मन्दिरमा अहिले नेपालीको सुख, शान्ति र समृद्धिको कामना गरिन्छ । समयसँगै पूजाको सङ्कल्प फेरिए पनि पुस्तौँदेखि चल्दै आएको धार्मिक विधि र परम्परा भने निरन्तर छ । मुख्य पुजारी सोमराज बरालका अनुसार घटस्थापनादेखि पूर्णिमासम्म गरिने विशेष पूजामा जनताको कल्याणको कामना गर्दै सङ्कल्प गरिन्छ ।
“पहिले राजाको भलो होस्, राम्रो होस् भनेर सङ्कल्प गरिन्थ्यो । अहिले देशका जनताको सुख, शान्ति र समृद्धिको कामना गर्दै पूजा गर्ने गरिएको छ”, उहाँले भन्नुभयो । यहाँ कालिका भगवतीको आराधनासँगै विभिन्न देवीदेवताको नाम पुकारेर पूजा गर्ने परम्परा छ ।
महाकाली, महालक्ष्मी, महासरस्वती, ब्रह्मा, विष्णु, महेश्वर, दश अवतारका देवता, चिरञ्जीवी, पञ्चायन देवता, गोरखनाथ, शिव पञ्चायत र चण्डीदेउरालीलगायत तेत्तीस कोटी देवीदेवताको स्मरण गर्दै पूजा गरिने मुख्य पुजारी बरालले बताउनुभयो ।
स्थानीय धार्मिक मान्यताअनुसार लमजुङ कालिकालाई जेठी, गोरखा कालिकालाई माइली, उदिपुर कालिकालाई साइँली र बागलुङ कालिकालाई कान्छी मान्ने परम्परा छ । यी चार कालिका मन्दिरलाई दिदीबहिनीका रूपमा जोडेर हेर्ने जनविश्वास रहेको बरालले बताउनुभयो ।
गाउँसहर कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बोहोराका अनुसार कालिका भगवती तत्कालीन शाह राजपरिवारकी कुलदेवी हुनुहुन्थ्यो । विसं १५५० मा यशोब्रह्म शाह लमजुङका राजा बनेपछि गाउँसहर दरबारसँगै कालिका मन्दिर स्थापना गरी कुलदेवीका रूपमा पूजा गर्ने परम्परा सुरु भएको मानिन्छ । राजपरिवारको समयदेखि चलिआएको पूजामा अहिले सङ्कल्पको उद्देश्य परिवर्तन भए पनि परम्परागत विधि कायम रहेको उहाँले बताउनुभयो ।
मन्दिरको पूजा तथा व्यवस्थापनमा २२ जना सुसारेको भूमिका रहन्छ । मन्दिरभित्र प्रवेश गरी देवीको पूजा गर्ने परम्परा बराल, बोहोरा, आले र राना समुदायका पुजारीसँग जोडिएको छ भने अन्य सुसारेले पूजाको तयारी र व्यवस्थापनमा सहयोग गर्छन् ।
यहाँको दसैँ परम्परामा फूलपाती भित्र्याउने विधि विशेष महत्वको छ । फूलपातीको अघिल्लो दिन षष्ठीमा दरबार परिसरमा विशेष पूजा गरिन्छ । त्यसपछि फूलपाती लिन जाने आठ जना सुसारेको टोली बेँसीसहरस्थित लक्ष्मीनारायण मन्दिर पुग्छ ।
त्यहाँ पूजा तथा भजनकीर्तन गरेपछि टोली बेँसीसहर नगरपालिका–७ स्थित मस्र्याङ्दी क्याम्पसनजिकैको मस्र्याङ्दी नदी किनारमा जान्छ । त्यहाँ एउटा बोकाको बलि दिइन्छ । त्यसपछि टोली रातभरि त्यहीँ बसेर भजनकीर्तन गर्दै जाग्राम बस्छ ।
भोलिपल्ट बिहान स्नान गरेपछि टोली फूलपातीका सामग्री सङ्कलन गर्न बेँसीसहर नगरपालिका–८ स्थित फूलबारीतर्फ लाग्छ । फूलबारीबाट आवश्यक फूल तथा पूजासामग्री सङ्कलन गर्दै चण्डीथुम्का पुग्छ । बेलपत्र, अशोकको पात, जयन्ती, आकुरीमाकुरी फूललगायत पूजा सामग्री सङ्कलन गरी फूलपाती तयार गरिन्छ । सङ्कलन गरिएका फूललाई बाटोमा बिसाउन नहुने परम्परा रहेको छ ।
लमजुङ दरबारबाट दस अवतारको पूजा गरी कलश बोकेका माउलेनी, भजन गाउने भजनिया, मालश्री गाउने समूह तथा नौमती बाजा र निसानसहितको टोली चण्डीथुम्का पुग्छ । त्यहाँ दुवै टोलीको भेट भएपछि पूजा गरी कुपिण्डो र बलि अर्पण गरिन्छ । त्यसपछि मालश्री धुन, भजन र बाजागाजासहित फूलपातीको डोली कालिका मन्दिरमा ल्याएर दसैँघरमा भित्र्याइन्छ ।
बडादसैँमा यहाँ सरकारी परम्पराअनुसार बोका, सुँगुर र भेडालगायत २७ वटा पशु तथा छवटा राँगाको बलि दिइन्छ । भक्तजनले व्यक्तिगत रूपमा पनि बलि चढाउने भएकाले दसैँमा बलि दिइने पशुको सङ्ख्या ६० सम्म पुग्ने गरेको छ ।
चैतेदसैँमा भने २७ वटा बलि दिने परम्परा छ । भस्मी प्रशासन कार्यालय लमजुङका प्रमुख ईश्वरकमल श्रेष्ठका अनुसार मन्दिरमा बडादसैँका लागि रु पाँच लाख र चैतेदसैँका लागि रु दुई लाख ७० हजार खर्च हुने गरेको छ । पूजाका लागि छुट्याइने बजेट २०७८ यता बढ्दै आएको छ । यस वर्षको भने हालसम्म रकम निकासा नभएको उहाँको भनाइ छ ।
देवीदेवताको स्मरण, कालिका मन्दिरलाई दिदीबहिनीका रूपमा जोड्ने धार्मिक मान्यता र फूलपाती भित्र्याउने परम्पराले यस मन्दिरको ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई आज पनि जीवन्त राखेको छ ।रासस























