देश/प्रदेश

झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित

०
Banner

दमौली (तनहुँ),असोज २० –

गत असोज ९, १० र ११ गते वर्षासँगै आएको बाढीले तनहुँको घिरिङ गाउँपालिका–४ करूवाटार मौतिघाट र नवलपुरको बौदीकाली गाउँपालिका–१ मचेडी जोड्ने झोलुङ्गे पुलमा क्षति पुगेपछि स्थानीयको आवतजावत ठप्प भएको छ ।

अविरल वर्षा र बाढीका कारण पुलमा क्षति भएपछि करूवाटार, बटौलिटारलगायत क्षेत्रका स्थानीयलाई नदी वारपार गर्न समस्या भएको हो । पुल अवरुद्ध हुँदा सबैभन्दा ठूलो असर विद्यार्थीमा परेको छ । करूवाटार र बटौलिटार क्षेत्रबाट नदी पारी रहेको बौदीकाली–१ मचेडीस्थित धर्मात्मा माध्यमिक विद्यालयमा अध्ययन गर्न जाने करिब १५ देखि २० जना विद्यार्थी विद्यालय जानबाट वञ्चित भएका छन् ।

दैनिक विद्यालय आवतजावतका लागि यही पुल प्रयोग गर्दै आएका विद्यार्थी अहिले बाटो बन्द भएपछि घरमै बस्न बाध्य भएका छन् । नदीमा पानीको बहाव उच्च रहेकाले जोखिम मोलेर नदी तर्न सक्ने अवस्था नरहेको घिरिङ गाउँपालिका–४ का वडाध्यक्ष भीमबहादुर कुमालले बताउनुभयो ।

पुल नहुँदा विद्यार्थी मात्र नभई स्थानीय बासिन्दा तथा दैनिक आवतजावत गर्ने पैदलयात्रीसमेत प्रभावित भएको उहाँले बताउनुभयो । “पुलमा क्षति पुगेपछि विद्यार्थीलाई विद्यालय जानसमेत समस्या भएको छ । नदीको बहाव उच्च भएकाले वैकल्पिक रूपमा नदी तरेर जान सक्ने अवस्था छैन,” वडाध्यक्ष कुमालले भन्नुभयो ।

पुल अवरुद्ध हुँदा बालबालिकाको पढाइ प्रभावित हुनुका साथै स्थानीयको दैनिक जीवनसमेत कष्टकर बनेको भन्दै स्थानीयले यथाशीघ्र पुल मर्मत गर्न वा तत्काल वैकल्पिक आवतजावतको व्यवस्था मिलाउन माग गरेका छन् ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>