देश/प्रदेश
आठराईद्वारा नगर बस सञ्चालन

तेह्रथुम,असोज १९-
आठराई गाउँपालिकाले शनिबारदेखि नगर बस सञ्चालनमा ल्याएको छ ।
नगर बस सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८३ जारी गरी गाउँपालिकाले नगर बस सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले जानकारी दिनुभयो। नगर बस सञ्चालनका लागि गाउँपालिकाले गत आर्थिक वर्षमा रु ६० लाख रकम विनियोजन गरेको थियो ।
उक्त नगर बस आठराई गाउँपालिकाको केन्द्र, सक्रान्ति बजारदेखि पाँचथर सदरमुकाम फिदिमसम्म दैनिक सञ्चालन हुने बताइएको छ । सक्रान्तिदेखि फिदिमसम्मको भाडादर रु २०० निर्धारण गरिएको गाउँपालिकाका उपाध्यक्ष बलिराज इङ्नामले बताउनुभयो । सक्रान्ति–फिदिम बीचको दूरी करिब ३५ किलोमिटर रहेको छ । ७० वर्षमाथिका ज्येष्ठ नागरिक, पाँच वर्षमुनिका बालबालिका र विद्यालय पोसाक लगाएका वा विद्यार्थी परिचयपत्र बोकेका विद्यार्थीलाई भने निःशुल्क सेवा दिइने उपाध्यक्ष इङ्नामले बताउनुभयो ।
त्यसैगरी, अपाङ्गता भएकाका लागि भाँडादरमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । उक्त नगर बस हरेक दिन बिहान ८ः०० बजे सक्रान्ति बजारदेखि छुट्नेछ भने फिदिमदेखि अपराह्न ३ः०० बजे आठराई फर्किने गाउँपालिकाका प्रवक्ता एवम् ६ नं वडाअध्यक्ष कृष्णप्रसाद बाँस्कोटाले बताउनुभयो ।
आठराई गाउँपालिकावासीको मुख्य बजार छिमेकी जिल्ला पाँचथरको फिदिम भएकाले उक्त रुटमा नगर बस सञ्चालमा ल्याइएको हो । यसको लागि पाँचथरको फिदिम नगरपालिकाको पनि साझेदारी रहेको जनाइएको छ ।
नगर बस सञ्चालनमा आएसँगै नागरिकको आवागमन सहज र सुरक्षित हुनाका साथै पर्यटन प्रवद्र्धन, स्थानीय उत्पादनको बजारीकरण, व्यापार–व्यवसाय विस्तार तथा स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष दिलकुमारले बताउनुभयो । रासस























