देश/प्रदेश

लार्केपास पूर्ण रुपमा अवरुद्ध

०
Banner

गोरखा, असोज १३ –

लार्केपास पूर्ण रुपमा अवरुद्ध बनेको छ । गत बिहीबारदेखि शनिबारसम्म परेका हिमपातका कारण उत्तरी गोरखा र मनाङको सिमानामा रहेको सो क्षेत्र बन्द भएको हो ।

जम्मा पाँच हजार १०६ मिटर उचाइमा रहेको लार्केपास बन्द हुँदा स्थानीयको जनजीवन प्रभावित बनेको चुमनुब्री गाउँपालिका–१ साम्दोका होटल व्यवसायी निमा दोर्जे लामाले बताउनुभयो ।

उहाँका अनुसार वर्षाको समयमा बाढी, पहिरोका कारण तल्लो भेगको बजारबाट दैनिक उपभोग्य सामान ढुवानी गर्न नसकेपछि मनाङको भीमथाङ बजारबाट लार्केपासबाट ओसारपसार सुरु गरिएको छ । अहिले बाक्लो हिउँ जमेर बाटो मेटिएकाले लार्केपासबाट मनाङ आवतजावत गर्न असम्भव भएको हो ।

“यताबाट सामान लिन गएका खच्चड मनाङमा अड्किएर बसेका छन् । उताबाट आएकाहरु यता रोकिएका छन्”, पूर्ववडा सदस्य रहेका निमा दोर्जेले भन्नुभयो, “अझै केही दिन बाटो नखुलाउने हो भने सामागाउँ, साम्दोमा खाद्यान्न अभावको स्थिति सिर्जना हुनसक्छ ।” बाढी र पहिरोका कारण मनास्लु पदमार्गको विभिन्न ठाउँमा बाटो अवरुद्ध छ । बाढीले पदमार्गका पुल बगाएका कारण घोडा, खच्चड आवतजावतमा रोक लगाइएको छ । स्थानीय र पर्यटकका लागि अस्थायी काठेपुल बनाइएको छ ।

बाढी, पहिरोले पुल बगाएपछि सामागाउँ, साम्दोमा जिल्लाको तल्लो क्षेत्रबाट वर्षामा घोडा, खच्चड हिँडाउन सकिएको छैन । बीचमा स्थानीय दैनिक उपभोग्य सामग्रीका लागि मनाङको भीमथाङ बजारमा आश्रित छन् ।

हिमपातले लार्केपास अवरुद्ध बनाएपछि मनाङ आवतजावत पनि ठप्प बनेको चुमनुब्री गाउँपालिका–१ का वडाअध्यक्ष कर्मा छेवाङ लामाले बताउनुभयो । मनास्लु पदमार्ग अवरुद्ध बनेपछि सामागाउँ, साम्दोमा खाद्यान्न ढुवानीको एउटै ठाउँ मनाङको थियो । त्यो पनि अहिले हिउँले बाटो अवरुद्ध बनेपछि समस्या भएको छ”, उहाँले भन्नुभयो ।

लार्केपास अवरुद्ध हुँदा मनास्लु–लार्के–चुम क्षेत्रको ट्रेकिङ रुट प्रभावित हुने स्थानीय निमा लामाको भनाइ छ । उहाँ भन्नुहुन्छ, “अहिले पर्यटकको सिजन छ । लार्केपास गर्न आएका सयौँ स्वदेशी, विदेशी पर्यटक पास अवरुद्ध हुँदा सामागाउँ र साम्दोमा रोकिएका छन् । जसले गर्दा पर्यटक, पर्यटन व्यवसायी र यस्थानीय होटल व्यवसायी, गाइड र पोर्टरहरु मर्कामा परेका छन् ।” लार्केपास खोलिदिन र सुरक्षित रुपमा सञ्चालनमा ल्याउने आफूहरुले टान, एमक्याप, गाउँपालिका र चुमनुब्री होटल व्यवसायी सङ्घलाई पत्रसमेत पठाएको जानकारी दिनुभयो ।

विगतमा पनि भारी हिमपातका कारण लार्केपास अवरुद्ध बनेको थियो । गत वर्ष स्थानीय युवाले बाटो खुलाएका थिए । यो वर्ष त्यो सम्भव नरहेको साम्दोमा निमा दोर्जे लामाले बताउनुभयो । “यो वर्ष एकदमै बाक्लो हिउँ जमेको छ, स्थानीयले मात्र हिउँ पन्छाउन सम्भव छैन”, उहाँले भन्नुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>