राजनीति
महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग

काठमाडौं, असोज १४ –
कञ्चनपुरस्थित महाकाली नदीमा आएको भीषण बाढीका कारण पर्यटकीय तथा रणनीतिक महत्व बोकेको बहुचर्चित दोधरा चाँदनी झोलुङ्गे पुलको करिव ७५ मिटर भाग क्षतिग्रस्त भएको छ । नदीको भङ्गालोले पुलको बीच भागमा रहेको टावर ब्लक तथा स्पर क्षेत्र कटान गरेपछि महाकालीपारिको बस्तीलाई सदरमुकाम महेन्द्रनगरसँग जोड्ने मुख्य पैदलमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा विशेष समय लिएर बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ज्ञानेन्द्र सिंह महताले पुल क्षतिग्रस्त हुँदा दोधरा चाँदनीवासीको दैनिक जनजीवन कष्टकर बनेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधित्व गर्नुहुने सांसद महताले घटना राति करिव ११ बजे भएकाले मानवीय क्षति हुन नपाए पनि स्थानीय बासिन्दा, विद्यार्थी, कर्मचारी तथा दैनिक ज्यालादारी गर्ने सर्वसाधारणको आवागमन ठप्प भएको जानकारी दिनुभयो ।






















