देश/प्रदेश
वन्यजन्तु अपराध नियन्त्रणका लागि पत्रकार र संरक्षणकर्मीबीच छलफल

ललितपुर,असोज १३-
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा वन्यजन्तुको अवैध व्यापार र चोरी, सिकार नियन्त्रणका विषयमा सञ्चारकर्मी र संरक्षणकर्मीबीच छलफल भएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोषले सोमबार आयोजना गरेको छलफलमा पत्रकार तथा संरक्षण क्षेत्रमा कार्यरत विज्ञ र अभ्यासकर्तालाई एकै ठाउँमा ल्याई वन्यजन्तु संरक्षणसम्बन्धी समाचार लेखन, सूचना सम्प्रेषण, अनुभव आदानप्रदान तथा जनचेतना अभिवृद्धिका उपायबारे विचार विमर्श गरिएको थियो ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका कायममुकायम निर्देशक एवं जलवायु परिवर्तन विभागका प्रमुख डाक्टर मनिषराज पाण्डेले वन्यजन्तुसम्बन्धी विषय गहन भएको बताउँदै संरक्षणका क्षेत्रमा राष्ट्रिय क्षमता विकास गर्नुपर्ने बताउनुभयो । उहाँले ज्ञान आदानप्रदानले महत्त्वपूर्ण सफलता हासिल गर्ने उल्लेख गर्नुभयो । वन्यजन्तु चोरी सिकारी ठूलो अपराध हो भन्दै यसलाई बृहत् रुपले हेर्नुपर्ने स्पष्ट पार्नुभयो । “यसलाई वातावरणीय अपराधका दृष्टिले हेर्नुपर्छ कसरी अपराध न्यूनीकरण गर्न सक्छौँ भनेर ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो ।
वरिष्ठ संरक्षण अधिकृत विष्णुसिंह ठकुरीले मानव–वन्यजन्तु द्वन्द्व, वन्यजन्तुको अवैध व्यापार र चोरी, सिकारका विषयलाई सञ्चारमाध्यमले कसरी तथ्यपरक, जिम्मेवार र प्रभावकारी ढङ्गले उठाउन सक्छ भन्ने विषय नै महत्वपूर्ण र प्राथमिकताको विषय रहेको बताउनुभयो ।
कार्यक्रममा वन्यजन्तु संरक्षणमा कोषले गर्दै आएका काम तथा संस्थाको भूमिकाबारे जानकारी गराउनुका साथै वन्यजन्तुसम्बन्धी समाचार सङ्कलनका विभिन्न पक्षमा प्रशिक्षण तथा अन्तरक्रिया गरिएको थियो ।
कार्यशालामा कोषका संरक्षण एवं सूचना अधिकारी गोविन्दप्रसाद पोखरेलले वन्यजन्तुसम्बन्धी समाचार सङ्कलन, विषय छनोट, स्रोतको प्रयोग तथा संरक्षणका संवेदनशील विषयलाई समाचारमा प्रस्तुत गर्ने तरिकाबारे सहजीकरण गर्नुभएको थियोे ।
वन्यजन्तु अपराध नियन्त्रण कानुन कार्यान्वयन गर्ने निकाय वा संरक्षण संस्थाको प्रयासबाट मात्र सम्भव नहुने भएकाले सर्वसाधारणमा सचेतना अभिवृद्धि गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहनेमा सरोकारवालाले जोड दिनुभएको थियो ।























