देश/प्रदेश
बनेपामा जालुद्यो जात्रा सम्पन्न

बनेपा (काभ्रे), असोज १२ –
काभ्रेपलाञ्चोकको बनेपामा मौलिक सांस्कृतिक पर्व जालुद्यो जात्रा सम्पन्न भएको छ । नेवार समुदायको परम्परा र संस्कृतिसँग जोडिएको जालुद्यो जात्रा परम्परागत विधिअनुसार भातबाट देवताको स्वरुप तयार गरी पूजा गरेर मनाउने गरिन्छ ।
बनेपा नगरपालिका-५ स्वधा टोलस्थित दक्षिणकाली मन्दिरमा नित्य पूजा तथा हाँसको बलिसहित पूजा गरी सुरु भएको जात्रा असोज ११ गते साँझ जालुद्योलाई रथमा राखेर विभिन्न टोल तथा चोक परिक्रमा गराएपछि सम्पन्न भएको हो ।
जात्रामा स्थानीयवासी तथा श्रद्धालुको उल्लेख्य सहभागिता रहेको बनेपा नगरपालिका-८ का वडाध्यक्ष शुभलक्ष्मी मानन्धराले बताउनुभयो । उहाँका अनुसार परिक्रमा सम्पन्न भएपछि खट जात्रा गरी जालुद्योलाई पुण्यमाता खोलामा लगेर विधिपूर्वक विसर्जन गरिएको थियो ।
बनेपाको मौलिक सांस्कृतिक पहिचानसँग जोडिएको जालुद्यो जात्रा पुस्तौँदेखि स्थानीय समुदायले निरन्तरता दिँदै आएको पर्व हो । जात्राले स्थानीय संस्कार, संस्कृति तथा परम्परालाई नयाँ पुस्तासम्म पुर्याउन योगदान गर्दै आएको मानन्धराले बताउनुभयो ।
मानन्धरका अनुसार जालुद्यो जात्रासँग एक्लो छोरा भएका परिवारको पुरानो धार्मिक विश्वाससमेत जोडिएको छ । “स्थानीय जनविश्वासअनुसार पहिले राक्षसले एक्लो छोरा भएका परिवारका छोरालाई पालैपालो आफ्नो आहार बनाउने गर्दथ्यो । त्यसबाट जोगाउन दक्षिणकाली माता जालुद्यो बनेर राक्षसमाथि विजय प्राप्त गरेको विश्वास रहिआएको छ”, उहाँले भन्नुभयो ।
संस्कार, संस्कृति, परम्परा, रीतिरिवाज र थितिले सम्पन्न नेवार बस्ती बनेपामा विभिन्न मौलिक परम्परालाई स्थानीयले निरन्तरता दिँदै आएका छन् । नेवार बस्तीमा माथिल्लो टोल र तल्लो टोलको परम्परागत विभाजन समेत रहेको पाइन्छ ।
जालुद्यो जात्राको विसर्जन गर्ने दिन बनेपाको तल्लो टोलमा बसोबास गर्ने स्थानीयवासीले ‘धौ मारी’ खाने परम्परालाई निरन्तरता दिँदै आएका छन् । स्थानीय किम्बदन्तीअनुसार जालुद्योको नाममा एक छाक खाना छाडेको सम्झनास्वरुप धौ मारी खाने चलन रहेको स्थानीय नेता पोटेले बताउनुभयो । रासस























