देश/प्रदेश
पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद
रौतहट, असोज ७ –
सशस्त्र प्रहरी बल नेपालको टोलीले गौर नगरपालिका–४ टिकुलियाबाट रु ५० लाखभन्दा बढी मूल्यका मोबाइलसँग सम्बन्धित सामग्री बरामद गरेको छ ।
सशस्त्र प्रहरी र गौर भन्सार कार्यालयका प्रतिनिधि सम्मिलित विशेष टोलीले मङ्गलबार राति स्थानीय भोला साहको घरमा छापा मारी ती सामान बरामद गरेको हो ।
विशेष सूचनाका आधारमा गएको सो टोलीले बेवारिसे अवस्थामा लुकाइछिपाइ राखिएको अवस्थामा मोबाइलसँग सम्बन्धित विभिन्न सामग्री बरामद गरिएको रौतहट जिल्ला सशस्त्र प्रहरी प्रमुख चेतराज जोशीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बरामद सामग्रीको अनुमानित मूल्य रु ५० लाख १४ हजार ५०० रहेको । यसैगरी, घटनास्थलबाट दुई थान मोटरसाइकल समेत बरामद गरिएको छ ।
प्रहरीले बरामद गरिएका सामान तथा मोटरसाइकल गौर भन्सार कार्यालय, रौतहटमा बुझाएको र बरामद सामग्रीको स्रोत तथा यस प्रकरणमा संलग्न अन्य व्यक्तिका बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ । रासस

























