अन्तर्राष्ट्रिय
इन्डोनेसियामा धुवाँ–धुलोको डरलाग्दो कहर, १ लाख ७५ हजारभन्दा बढीमा श्वासप्रश्वाससम्बन्धी समस्या

जकार्ता, असोज ७ –
इन्डोनेसियामा हप्तौँदेखि फैलिएको वन डढेलोबाट निस्किएको बाक्लो धुवाँ र विषाक्त तुवाँलोका कारण १ लाख ७५ हजारभन्दा बढी मानिसमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको छ ।
इन्डोनेसियाको स्वास्थ्य मन्त्रालयका अनुसार अगस्टयता १ लाख ७५ हजारभन्दा बढी मानिस प्रभावित भएका छन् ।
तीमध्ये ४० हजारभन्दा बढी बालबालिका, विशेषगरी दुई वर्षमुनिका शिशु, रहेका छन् । बिरामीमा सामान्य खोकीदेखि ब्रोन्काइटिस र निमोनियासम्मका समस्या देखिएका छन् ।
वन डढेलोका कारण इन्डोनेसियाका साथै छिमेकी मलेसिया र सिंगापुरका केही क्षेत्रमा पनि विषाक्त धुवाँ फैलिएको छ । प्रभावित क्षेत्रमा वायु गुणस्तर ‘अस्वस्थ’ तहमा पुगेपछि विद्यालय बन्द गर्नुका साथै अस्पतालमा भर्ना हुने बिरामीको सङ्ख्या बढेको छ ।
इन्डोनेसियाले बोर्नियो र सुमात्रा द्वीपमा आगो नियन्त्रणका लागि ५४ हजारभन्दा बढी सुरक्षाकर्मी तथा कर्मचारी र दर्जनौँ विमान परिचालन गरेको छ ।
विमानबाट पानी खसाल्ने अभियान चलाइए पनि देशको विशाल क्षेत्रमा लागेको आगो नियन्त्रण गर्न कठिन भइरहेको अधिकारीहरूले बताएका छन् ।
अधिकारीहरूका अनुसार आगो निभाउने, धुवाँको प्रभाव घटाउने र वन तथा जमिनमा लागेको डढेलोबाट सर्वसाधारणलाई जोगाउने प्रयास भइरहेको छ ।
इन्डोनेसियामा प्रत्येक वर्ष सामान्यतः जुलाईदेखि अक्टोबरसम्मको सुख्खा मौसममा डढेलो लाग्ने गर्छ । तर यस वर्ष ‘गोडजिला’ एल निनोका कारण अत्यधिक सुख्खा अवस्था सिर्जना भएकाले डढेलो र तुवाँलोको समस्या झन् गम्भीर बनेको बताइएको छ ।
स्वतन्त्र वन निगरानी संस्था नुसान्तारा एटलसका अनुसार बुधबारसम्म इन्डोनेसियाभर करिब ७ लाख ३४ हजार हटस्पट पहिचान भएका छन् । यो सङ्ख्या सन् २०१९ को इन्डोनेसियाको सबैभन्दा खराब डढेलोको मौसमको तुलनामा ३० प्रतिशतभन्दा बढी हो ।
यस वर्ष जनवरीदेखि हालसम्म कम्तीमा ८ लाख ९५ हजार ६५७ हेक्टर जमिन डढेलोबाट जलेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार डढेलोबाट प्रभावित श्वासप्रश्वासका बिरामीको सङ्ख्या सेप्टेम्बर १ मा ५० हजार ८९१ बाट बढेर सेप्टेम्बर ९ सम्म १ लाख १३ हजार ३३६ पुगेको थियो । त्यसपछि पनि नयाँ बिरामी थपिएका छन् ।
डढेलोले मानिससँगै वन्यजन्तुलाई पनि गम्भीर असर पारेको छ । विशेषगरी संकटापन्न ओराङ्गुटान प्रभावित भएका छन् । पश्चिम कालिमान्तानमा गत महिना एक ओराङ्गुटानलाई ताडको तेल उत्पादन हुने क्षेत्रमा बेहोस अवस्थामा उद्धार गरिएको थियो । अक्सिजनको कमीका कारण आपत्कालीन उपचार गरिए पनि पछि त्यसको मृत्यु भएको थियो ।
पश्चिम कालिमान्तानका आदिवासी तथा नागरिक समाज समूहले डढेलो नियन्त्रणमा उचित कदम नचालेको आरोप लगाउँदै केन्द्र तथा स्थानीय सरकारविरुद्ध गत साता सामूहिक मुद्दा दायर गरेका छन् ।
आगो नियन्त्रण र वर्षा गराउने उद्देश्यले इन्डोनेसियाले पछिल्ला सातामा क्लाउड–सिडिङ पनि गरिरहेको छ । जापानको सेल्फ–डिफेन्स फोर्सका सदस्यले समेत बोर्नियोमा अग्निनियन्त्रण प्रयासमा सहयोग गरिरहेका छन् । यद्यपि कृत्रिम रूपमा वर्षा गराउने यो प्रविधि कति प्रभावकारी हुन्छ भन्नेमा मौसमविद्हरूबीच मतभेद छ ।
मलेसियाको सारावाक राज्यमा पनि तुवाँलोको प्रभाव गम्भीर बनेपछि पाँचदिने क्लाउड–सिडिङ अभियान सञ्चालन गरिएको थियो । अधिकारीहरूले अक्टोबर अझ तातो र सुख्खा हुन सक्ने चेतावनी दिएका छन् ।
इन्डोनेसियाबाट फैलिएको तुवाँलो फिलिपिन्सका केही भागसम्म पनि पुगेको छ । त्यहाँ स्थानीय अधिकारीहरूले सर्वसाधारणलाई सकेसम्म घरभित्रै बस्न आग्रह गरेका छन् । सिंगापुरले पनि तुवाँलोको अवस्थाबारे दैनिक स्वास्थ्य चेतावनी जारी गर्न थालेको छ । एजेन्सी

























