देश/प्रदेश

झापा जिल्लामा सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

Banner

भद्रपुर(झापा),असोज ६ –

झापा जिल्लामा सवारी दुर्घटनाको वार्षिक तथ्याङ्क बढ्दो रहेको पाइएको छ ।

गत साउनको तुलनामा भदौ महिनामा सवारी दुर्घटनाको सङ्ख्या दोब्बरले वृद्धि भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार साउनमा ३९ वटा सवारी दुर्घटना भएकामा भदौमा बढेर ८८ पुगेको हो । दुर्घटना परी साउनमा १२ जनाको मृत्यु भएकामा भदौमा चार जनाले ज्यान गुमाएका छन् ।

साउनमा ४० जना घाइते भएकामा भदौमा उक्त सङ्ख्या १३५ पुगेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिनुभयो । प्रहरीको तथ्याङ्कअनुसार दुवै महिनामा दुर्घटनाको मुख्य कारण चालकको लापरबाही देखिएको छ । साउनमा भएका ३९ दुर्घटनामध्ये ३० र भदौमा भएका ८८ मध्ये ७८ दुर्घटना चालकको लापरबाहीका कारण भएका थिए ।

यात्रुको हेलचेक्रयाइ, सडकको अवस्था, सवारीसाधन र चौपायाका कारण पनि दुर्घटना भएका थिए । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले भदौमा ९५६ सवारी चेक जाँच गर्दा दुई हजार २३२ सवारीसाधन कारबाहीमा परेकामा त्यसबाट रु २३ लाख सात हजार राजस्व सङ्कलन भएको प्रहरीले जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>