तनहुँ

तनहुँ जलविद्युत् आयोजनाको जलाशय क्षेत्रमा रुख कटान प्रक्रिया सुरु

०
Banner

दमौली(तनहुँ), कात्तिक १७ –

तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशय क्षेत्रमा रहेका रुख कटानका लागि प्रक्रिया सुरु गरिएको छ ।

यसका लागि आयोजनाले जलाशय क्षेत्रभित्र पर्ने २५ वटा सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिसँग पहिलो चरणको परामर्श बैठक गरेको छ । डिभिजन वन कार्यालय तनहुँको समन्वयमा आयोजित बैठकमा जलाशय क्षेत्रमा रहेका रुखको गणना, छपान तथा कटानसम्बन्धी प्रक्रियाबारे छलफल गरिएको आयोजनाले जनाएको छ ।

बैठकमा रुख गणना, छपान र कटानका लागि अपनाउनुपर्ने विधि तथा प्रक्रियाबारे सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिलाई जानकारी गराइएको थियो । उक्त कार्यमा सामुदायिक वन उपभोक्ता समूहको भूमिका, सहभागिता र आवश्यक समन्वयका विषयमा समेत छलफल भएको छ ।

आयोजना प्रमुख श्यामजी भण्डारीले जलाशय क्षेत्रभित्र पर्ने रुख कटानको काम व्यवस्थित रूपमा अघि बढाउन सामुदायिक वन उपभोक्ता समूहसँग परामर्श सुरु गरिएको जानकारी दिनुभयो । रुख गणना, छपान तथा कटानसम्बन्धी प्रक्रिया अघि बढाउँदा सम्बन्धित वन समूहको सहभागिता र समन्वयलाई महत्त्व दिइएको उहाँले बताउनुभयो ।

जलाशय क्षेत्रभित्र पर्ने वन क्षेत्रको व्यवस्थापन आयोजनाको निर्माण प्रक्रियासँग जोडिएको विषय भएकाले प्रचलित वनसम्बन्धी कानुनी व्यवस्था र निर्धारित प्रक्रियाअनुसार काम अघि बढाउनुपर्ने भण्डारीले बताउनुभयो ।

रुख गणना, कटान तथा आवश्यक प्रक्रिया पूरा गर्न उपभोक्ता समूहले कसरी सहभागिता जनाउने भन्ने विषयमा बैठकमा छलफल भएको थियो ।
बैठकमा छलफल भएका विषयलाई कार्यान्वयनमा लैजान आवश्यक प्रक्रिया अघि बढाउने सहमति भएको आयोजना प्रमुख भण्डारीले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>