देश/प्रदेश

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

Banner

राँझा (बाँके),असोज ५ –

स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका–२१ निवासी डिगम्बर देवसिंह राना खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा सफल उपचारपछि अहिले सामान्य जीवनयापन गरिरहनुभएको छ ।

दुई वर्षअघि शल्यक्रिया गर्नुभएका रानाले नियमित रूपमा किमोथेरापी र भित्री सेकाई ९ब्रेकीथेरापी० गरेपश्चात् अहिले सामान्य अवस्थामा फर्किनुभएको छ । क्यान्सरजस्तो प्राणघातक रोगको घरनजिकै रहेको अस्पतालबाट उपचार सेवा पाउँदा उहाँलाई ठूलो राहत मिलेको छ ।

“चितवन वा काठमाडौँ जानुपरेको भए धेरै दुःख र आर्थिक नोक्सानी हुने थियो, यहाँ घरबाटै आउनेजाने गरेर सजिलैसँग उपचार पाइयो”, रानाले भन्नुभयो, “यो अस्पताल सञ्चालनमा आएपछि मजस्ता हजारौँ नागरिकलाई सजिलो भएको छ ।”

अस्पतालका सूचना अधिकारी डा प्रवीणकुमार गुप्ताका अनुसार नयाँ प्रविधि र विशेषज्ञ चिकित्सकको टोलीमार्फत क्यान्सरका बिरामीलाई आवश्यक सबैखाले उपचार खजुरामै सम्भव भएपछि पश्चिम नेपालका नागरिकको समय र पैसा दुवै बचत भएको छ । यसले सर्वसाधारणलाई आर्थिक र मानसिक दुवै हिसाबले ठूलो राहत मिलेको छ ।

अस्पतालले क्यान्सरसम्बन्धी अत्याधुनिक विशेषज्ञ सेवा निरन्तर विस्तार गरेसँगै यहाँ बिरामीको चाप उल्लेख्य रूपमा बढेको छ । पहिलेपहिले क्यान्सर उपचारका लागि काठमाडौँ वा चितवन धाउनुपर्ने बाध्यतामा रहेका पश्चिम नेपालका क्यान्सरपीडितका लागि सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आशा र भरोसाको केन्द्र बन्दै गएको उहाँको भनाइ छ ।

अस्पतालमा हाल अत्याधुनिक उपकरणसहितका आइसीयू, इमर्जेन्सी, शल्यक्रिया, किमोथेरापी, ब्रेकीथेरापी, सिटीस्क्यान, म्यामोग्राफी, भिडियो एक्स–रे तथा रेडियोथेरापीजस्ता महत्त्वपूर्ण सेवा उपलब्ध छ ।

ब्रेकीथेरापी मेसिन जडान गरेर शल्यक्रियाको समेत दायरा फराकिलो पारिएपछि यहाँ आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । प्राविधिक समस्याका कारण केही समय प्रभावित बनेको रेडियोथेरापी सेवा पुनः सुरु भएको सूचना अधिकारी गुप्ताले बताउनुभयो ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका क्यान्सरका बिरामीलाई लक्षितगरी बाँकेको खजुरा गाउँपालिका–७ मा सञ्चालित पश्चिम नेपालकै प्रमुख क्यान्सर उपचार केन्द्रका रूपमा स्थापित भइरहेको अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा मुकेश यादवले जानकारी दिनुभयो ।

अस्पतालमा गम्भीर बिरामीका लागि अत्याधुनिक सघन उपचारकक्ष ९आइसीयू०, निरन्तर निगरानी र भेन्टिलेटर सुविधा उपलब्ध छ । त्यसैगरी, आकस्मिक बिरामीका लागि २४सै घण्टा इमर्जेन्सी, डेकेयर, शल्यक्रिया, रक्तसञ्चार, इसिजी तथा इको सेवा सञ्चालनमा छन् । यस्तै, २४सै घण्टा फार्मेसी, प्रयोगशाला, एक्स–रे र एम्बुलेन्स सेवा उपलब्ध गराएर अस्पतालले बिरामीलाई एकीकृत सेवा प्रदान गर्दै आएको डा यादवले बताउनुभयो ।

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल स्थापना र विकासको इतिहास प्रेरणादायी छ । सुरुमा स्थानीयस्तरको पहलमा ‘नेपाल क्यान्सर अस्पताल’का रूपमा अघि बढाइएको यस अस्पताललाई २०७३ फागुन १५ गते गठन आदेशमार्फत सुशील कोइराला प्रखर क्यान्सर अस्पताल नामकरण गरिएको हो ।

विसं २०७४ असार ११ गते तत्कालीन स्वास्थ्यमन्त्री उपेन्द्र यादवबाट बहिरङ्ग ९ओपिडी० सेवाको उद्घाटन भएसँगै अस्पतालमा औपचारिक स्वास्थ्य सेवा सुरु भएको थियो । यस्तै, २०७७ मङ्सिर ५ गतेदेखि अस्पतालले आफ्नै अपरेसन थिएटरबाट शल्यक्रिया सेवा दिन थालेको अस्पतालका संस्थापक अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो ।

अस्पतालले सेवा विस्तार गरेसँगै पश्चिम नेपालका जनतालाई क्यान्सरको उपचारका लागि भरतपुर क्यान्सर अस्पताल चितवन र सङ्घीय राजधानी काठमाडौँ पुग्नुपर्ने बाध्यताको अन्त्य भएको कक्षपतिले बताउनुभयो ।

हालसम्म अस्पतालमा स्थायी दरबन्दी कायम नभएको उल्लेख गर्दै उहाँले अस्थायी, करार र ज्यालादारी कर्मचारीबाट सेवा प्रवाह हुँदै आएको बताउनुभयो । अस्पतालमा जनशक्तिको लागि स्थायी दरबन्दी र पूर्वाधार विकासको लागि सरकारले ध्यान दिनसके सेवा अझै प्रभावकारी र सहज हुने उहाँको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>