खेलकुद
सङ्खुवासभा गोल्डकपः लोहरुङ र सेकाहा सेमिफाइनलमा

सङ्खुवासभा, कात्तिक १७ –
सङ्खुवासभा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक जिल्लाका लोहरुङ क्लब पाङ्मा र सेकाहा सामुदायिक क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् ।
आज सम्पन्न खेलमा लोहरुङले सिरहाको सलहेश युवा क्लबलाई ‘सडन डेथ’ मा पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो भने सेकाहाले झापा–११ लाई २–० गोलले हराएको छ ।
खाँदबारी नगरपालिका–३ मानेभञ्याङस्थित महेन्द्र माध्यमिक विद्यालयको खेल मैदानमा भएको पहिलो खेलमा लोहरुङ र सलहेशबीचको निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएको थियो । त्यसपछि भएको टाइब्रेकरमा दुवै टोलीले चार–चार गोल गरेपछि खेलको निर्णय सडन डेथबाट लिइएको थियो । सडन डेथमा लोहरुङले ६–५ गोलले जित निकालेको हो ।
निकै प्रतिस्पर्धात्मक खेलमा सलहेशले सुरुआती अग्रता बनाएको थियो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि सडन डेथमा बाजी मार्दै लोहरुङले सेमिफाइनलको यात्रा तय गरेको हो ।
आजै भएको अर्को खेलमा सङ्खुवासभाकै सेकाहा सामुदायिक क्लबले झापा–११ लाई २–० गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । सेकाहाका लागि मिलन लिम्बूले खेलको ५५औँ र ६३औँ मिनेटमा लगातार दुई गोल गर्दै टोलीको जित सुनिश्चित गर्नुभयो । दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको सेकाहाले झापा–११ लाई गोल गर्ने अवसर नदिई महत्त्वपूर्ण जित निकालेको हो ।
यही कात्तिक २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको प्रतियोगिता संयोजक जिल्लामान राईले बताउनुभयो ।
प्रतियोगिताको विजेता टोलीले नगद रु पाँच लाख र उपविजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, फरवार्ड र सर्वाधिक गोलकर्तालाई जनही रु सात हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘प्लेयर अफ द म्याच’ घोषित गरी रु पाँच हजार प्रदान गरिनेछ भने प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीले रु १० हजार प्राप्त गर्नेछन् ।
एडभान्स क्लब मानेभञ्याङको आयोजनामा सोमबारदेखि महेन्द्र माध्यमिक विद्यालय मानेभञ्याङको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो ।
























