समाचार
दुई महिनामा १ लाख ३० हजारभन्दा बढी नेपाली गए वैदेशिक रोजगारीमा

काठमाडौं,असोज ४-
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा १ लाख ३० हजार ४८३ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार साउन र भदौमा गरी १ लाख ३० हजार ४८३ जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका हुन् । साउनमा ७० हजार ४४१ जनाले श्रम स्वीकृति लिएका थिए । तर साउनको तुलनामा भदौमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको छ । भदौमा ६० हजार ४२ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् ।
भदौमा श्रम स्वीकृति लिनेमा ५१ हजार ८४३ जना पुरुष र ८ हजार १९९ जना महिला छन् । तीमध्ये ३५ हजार ६२७ जनाले पहिलोपटक नयाँ श्रम स्वीकृति लिएका छन् भने २४ हजार ४१५ जनाले बिदामा फर्किएर पुनः श्रम स्वीकृति लिएका छन् । नेपाली श्रमिकको प्रमुख गन्तव्यका रूपमा संयुक्त अरब इमिरेट्स (यूएई) पहिलो स्थानमा रहेको छ । भदौमा यूएईका लागि १५ हजार ५४२ पुरुष र २ हजार ९३५ महिला गरी १८ हजार ४७७ जनाले श्रम स्वीकृति लिएका छन् ।
यस्तै, कतारका लागि १० हजार ४७१, मलेसियाका लागि ८ हजार ९१, साउदी अरेबियाका लागि ६ हजार ७८७ र कुवेतका लागि ३ हजार ८९८ जनाले श्रम स्वीकृति लिएका छन् ।
युरोपेली मुलुक रोमानियाका लागि १ हजार ७९३ तथा जापानका लागि १ हजार १३० र ओमानका लागि १ हजार ९५ जनाले श्रम स्वीकृति लिएका छन् । दक्षिण कोरियाका लागि सरकारी प्रक्रियामार्फत जाने ७८९ जनासहित कुल ९०३ जनाले श्रम स्वीकृति पाएका छन् । जिल्लागत विवरणअनुसार मधेस र कोशी प्रदेशका जिल्लाबाट वैदेशिक रोजगारीमा जानेको संख्या बढी देखिएको छ ।
देशभरमा सबैभन्दा धेरै धनुषाबाट ३ हजार १६ जना विदेशिएका छन् । यस्तै, झापाबाट २ हजार ७१६, मोरङबाट २ हजार ६९०, सिरहाबाट २ हजार ३४९, महोत्तरीबाट २ हजार २८१, सुनसरीबाट २ हजार २२६ र रुपन्देहीबाट २ हजार १० जनाले श्रम स्वीकृति लिएका छन् । हिमाली जिल्लाबाट वैदेशिक रोजगारीमा जानेको संख्या भने न्यून छ । समीक्षा अवधिमा मनाङबाट १३, मुस्ताङबाट २३ र हुम्लाबाट ३७ जनाले मात्र वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।
























