देश/प्रदेश

बाढीले भत्काएको बिरेठाँटी सडक मर्मत गरेर यातायात सञ्चालनमा

Banner

कास्की, असोज ३ –

कास्कीको अन्नपूर्ण गाउँपालिका–८ बिरेठाँटीमा मोदी खोलाले भत्काएको सडक मरमत गरेर यातायात सेवा शुक्रबारदेखि सञ्चालनमा ल्याइएको छ । गत साउन २८ गतेको बाढीले बिरेठाँटीमा १०० मिटर पक्की सडक बगाउँदा अन्नपूर्ण गाउँपालिका–८, ९, १० र ११ (साविक दाङसिङ र घान्द्रुक गाविस) मुख्य राजमार्ग तथा गाउँपालिका केन्द्रसँग सडक सम्पर्कबाट विच्छेद भएका थिए ।
ती वडालाई जोड्ने मुख्य नाकाका रूपमा रहेको बिरेठाँटीको सडक पुनःमरमत गरिएपछि स्थानीयवासी तथा पर्यटकलाई आवतजावतमा सहज भएको छ ।

गाउँपालिका, गण्डकी प्रदेश सरकार, नेपाली सेना, जिल्ला प्रशासन कार्यालय कास्की, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० तथा उपल्लो मोदीखोलामा सञ्चालित जलविद्युत् आयोजनाको समन्वय र सहकार्यमा गत भदौ २ गतेदेखि सडक मर्मत सम्भार थालिएको र शुक्रबारदेखि सडकमा यातायात सेवा सञ्चालनमा आएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताउनुभयो ।उहाँका अनुसार बिरेठाँटीमा मोदीखोलाको बहाव डाइभर्सन गरी ग्याबिन जाली भर्ने र ब्याकफिलिङ गर्ने काम सकिएको तथा आवश्यक संरचना निर्माण तथा सडक मर्मत सम्पन्न गरी यातायात सेवा सञ्चालनमा ल्याइएको छ । “ नयाँपुल– बिरेठाँटी–घान्द्रुक सडकको मुख्य नाकाका रुपमा रहेको बिरेठाँटीको अवरोध सबैको साथ र सहयोगबाट हटेको छ । हाल सडक मर्मत गरी यातायात सञ्चालनमा ल्याउन सफल भएका छौँ । यसबाट नागरिकलाई केही सहज भएको छ । ” केसीले भन्नुभयो ।

बिरेठाँटीमा सडक सञ्चालन भएपनि अझै घान्द्रुकसँग भने सिधा सम्पर्क अझै स्थापित भइसकेको छैन । घान्द्रुक बसपार्कसम्म पुग्ने सडकको सिउँरेमा सडक मर्मतको काम भइरहेकाले अझै केही दिन लाग्ने गाउँपालिकाले जनाएको छ । “बिरेठाँटीको सडक खुलेसँगै उल्लेरी हुँदै पर्यटकीय गन्तव्य पुनहिल र घोडेपानी जान सहज भएको छ । बिरेठाँटी र चिमरुङ तमुचोकसम्मको सडक खुलेपछि धेरै सहज भएको छ अब केही दिनमा घान्द्रुकसम्मनै खुलाउने प्रयासमा छौँ । ” गाउँपालिका प्रवक्ता भरतमान गुरुङले भन्नुभयो । सडक पुनःनिर्माणका लागि गण्डकी प्रदेश सरकारले आवश्यक ग्याबिन तारजाली उपलब्ध गराएको थियो । नेपाल विद्युत् प्राधिकरणद्वारा प्रवद्धित उपल्लो मोदी हाइड्रोपावर कम्पनी तथा लान्द्रुक मोदी हाइड्रोपावर कम्पनीले एक्साभेटरलगायत निर्माण उपकरण उपलब्ध गराएका थिए । एक्साभेटर तथा टिपर सञ्चालनमा लाग्ने डिजेल र अन्य व्यवस्थापन खर्च गाउँपालिकाले व्यहोरेको प्रवक्ता गुरुङले बताउनुभयो ।

नेपाली सेनाका ४५ जनाले भदौ १० गतेदेखि असोज २ गतेसम्म ग्याबिन भर्ने काममा श्रमदान गरेका थिए । सडकको अर्को खण्डमा भने गाउँपालिकाले बोलपत्रमार्फत निर्माण व्यवसायी परिचालन गरी ग्याबिन भर्ने काम गरेको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>