चितवन विशेष

चितवनको अंकुरम एकेडेमीमा नमुना संयुक्त राष्ट्रसंघ कार्यक्रम हुँदै

Banner

चितवन, असोज २-

भरतपुर महानगरपालिका–७, कृष्णपुरस्थित अंकुरम एकेडेमीमा तेस्रो संस्करणको त्रिदिवसीय ‘अंकुरम नमुना संयुक्त राष्ट्रसंघ कार्यक्रम’ आयोजना हुने भएको छ । संयुक्त राष्ट्रसंघमा उठ्ने विभिन्न विषयवस्तुबारे विद्यार्थीलाई अध्ययन तथा अनुसन्धान गर्न उत्प्रेरित गर्ने उद्देश्यले असोज ३ गते शनिबारदेखि असोज ५ गतेसम्म कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रमबारे एकेडेमीले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

कार्यक्रममा चितवन र नवलपुरका १२ विद्यालयका करिब दुई सय विद्यार्थी सहभागी हुने कार्यक्रम एड्भाइजर सुमन पौडेलले जानकारी दिए । उनका अनुसार संयुक्त राष्ट्रसंघमा उठ्ने विभिन्न छवटा विषयमा विद्यार्थीले प्रतिनिधिका रूपमा अध्ययन, अनुसन्धान तथा बहस गर्नेछन् । यस्ता नयाँ प्रकृतिका कार्यक्रमले विद्यार्थीको रचनात्मक क्षमता विकास गर्नुका साथै उनीहरूको सर्वाङ्गीण विकासमा टेवा पुग्ने अपेक्षा गरिएको पौडेलले बताए ।

कार्यक्रममा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्अन्तर्गत ‘उदीयमान रणनीतिक क्षेत्रमा महत्वपूर्ण पूर्वाधारको सुरक्षाः अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामाथिका खतराको सम्बोधन’ विषयमा छलफल हुनेछ । त्यस्तै, मानवअधिकार परिषद्अन्तर्गत ‘अफगानिस्तानमा विद्यमान प्रणालीगत हिंसा तथा मानवअधिकार उल्लङ्घनको सम्बोधन’ विषयमा विद्यार्थीले बहस गर्नेछन् ।

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (यूएनईपी) अन्तर्गत ‘एल निनो र ला निनासँग सम्बन्धित चरम मौसमी घटनाविरुद्ध विश्वव्यापी जलवायु लचिलोपनको सुदृढीकरण’ विषयमा पनि छलफल हुनेछ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (यूनेस्को) अन्तर्गत ‘उदीयमान प्रविधिमार्फत द्वन्द्व र संकटको अवस्थामा शिक्षाको अधिकारको संरक्षण’ विषय कार्यक्रममा समेटिएको छ । यसैगरी, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) अन्तर्गत ‘चिकित्सा क्षेत्रमा भएका नवीन आविष्कारमा असमान पहुँचका कारण सिर्जित विश्वव्यापी स्वास्थ्य असमानताको रोकथाम’ विषयमा विद्यार्थीले आफ्ना धारणा प्रस्तुत गर्नेछन् ।

संयुक्त राष्ट्रसंघीय बालकोष .(युनिसेफ) अन्तर्गत ‘कृत्रिम बुद्धिमत्ताको युगमा अनलाइन शोषणविरुद्ध बालबालिकाको सुरक्षा संयन्त्रको सुदृढीकरण’ विषयमा पनि बहस हुनेछ । छवटै विषयमा कमिटीका सभापति, उपसभापति तथा प्रतिनिधिले अध्ययन, अनुसन्धान र छलफल गर्ने कार्यक्रम रहेको महासचिव रिताकुमारी उपाध्यायले जानकारी दिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>