देश/प्रदेश
भोटेकोशी बाढीमा परी मृत्यु भएकाको सम्झनामा वृक्षारोपण

नेपालगञ्ज (बाँके), भदौ २२ –
भोटेकोशी बाढीमा परी मृत्यु भएकाको सम्झनामा वृक्षारोपण गरिएको छ । आज राष्ट्रिय शोकको दिन पारेर बाढीमा परी मृत्यु भएकाको आत्मको शान्तिाका लागि वृक्षारोपण गरिएको हो ।
लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रत्न खत्रीले मृतकहरूको सम्झनामा फलफूलका बिरुवा रोपण गर्नुका साथै स्थानीयलाई वितरण गरिएको बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बैजनाथ गाउँपालिका कमिटीले बैजनाथ गाउँपालिका-२ स्थित डिगिया गाउँमा फलफूलका बिरुवा रोपण तथा वितरण गरेको हो ।
“आज रोपिएका यी बिरुवा प्रत्येक वर्ष हुर्किंदै र फल्दै जानेछन् । यसमा फुल्ने फूल र लाग्ने फलले हामीलाई भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाको सम्झना गराइरहनेछ”, मन्त्री खत्रीले भन्नुभयो । वृक्षारोपणमा स्थानीयनेता, कार्यकर्ता तथा सर्वसाधारणलाई आँप, लिची, कागती, शीतलचिनीलगायत करिब एक हजार फलफूलका बिरुवा वितरण गरिएको थियो ।
मन्त्री खत्रीले भोटेकोशी बाढीले केही जिल्लाका नागरिकलाई मात्र नभई देशभरका सबैको मन दुखाएको बताउनुभयो । “बाढीपहिरोमा परेर ज्यान गुमाउने हाम्रा साझा पीडाका विषय हुन् । मृतकहरूको सम्झनालाई जीवित राख्दै उहाँहरूको आत्मको शान्तिाका लागि तथा वातावरण संरक्षणमा पनि योगदान पुर्याउने उद्देश्यले फलफूलका बिरुवा रोपण र वितरण गरिएको हो”, उहाँले भन्नुभयो । स्थानीयवासीले पनि आज रोपिएका बिरुवा संरक्षण गरी हुर्काउने प्रतिबद्धता जनाएका छन् । रासस
























