तनहुँ

आयुर्वेद सेवामा बढ्दै आकर्षण, ३४ हजार लाभान्वित

Banner

दमौली (तनहुँ), भदौ ६-

प्रदेश आयुर्वेद चिकित्सालय तनहुँले आर्थिक वर्ष २०८२/८३ मा ३४ हजार २९४ लाई सेवा प्रदान गरेको छ । चिकित्सालयले सो अवधिमा बहिरङ्ग (ओपिडी) सेवा, ज्येष्ठ नागरिक सेवा, योग सेवा, पञ्चकर्म, स्तनपायी आमा तथा शिशु सेवा, क्षारसुत्र, प्रयोगशाला, फिजियोथेरापी, शिरोधारा र स्वर्णप्राशन सेवा प्रदान गरेको हो ।

कार्यालयका सूचना अधिकारी सोमकान्त पौडेलले आर्थिक वर्ष २०८१/८२ मा २६ हजार ४०४ जनालाई आयुर्वेदिक सेवा प्रदान गरिएको जानकारी दिनुभयो । आव २०८०र८१ मा १६ हजार ५०२ जनालाई सेवा प्रदान गरिएको थियो ।

सबैभन्दा बढी १० हजार ३४२ लाई बहिरङ्ग, दुई हजार ६०४ लाई ज्येष्ठ नागरिक, पाँच हजार ९४१ लाई योग, नौ हजार ५०५ जना पूर्वकर्म र पञ्चकर्म, १७ जनालाई स्तनपान गराउने आमा तथा शिशु सेवा, १९ लाई क्षारसुत्र, ५०४ जनालाई प्रयोगशाला सेवालगायत फिजियोथेरापी, शिरोधारा तथा स्वर्णविन्दु प्राशन सेवा प्रदान गरिएको छ ।

पौडेलका अनुसार चिकित्सालयले तनहुँसँगै गोरखा, लमजुङ, कास्की, स्याङ्जा र आसपासका जिल्लाबाट आउने सेवाग्राहीलाई आयुर्वेदिक उपचार, रोग प्रतिरोधात्मक सेवा, स्वास्थ्य प्रवर्द्धन तथा जीवनशैली व्यवस्थापनसम्बन्धी सेवा प्रदान गर्दै आएको छ । पछिल्ला वर्षहरूमा एलोपेथिक उपचारसँगै आयुर्वेदिक उपचारलाई पूरक उपचारका रूपमा अपनाउने नागरिकको सङ्ख्या बढ्दै गएको उहाँले बताउनुभयो ।

आयुर्वेदिक उपचार केवल रोग निको पार्ने माध्यम मात्र नभई स्वस्थ जीवनशैली अपनाउने अभियानसमेत भएकाले समुदायस्तरमा यसको पहुँच विस्तार गर्न चिकित्सालयले विभिन्न विद्यालय, स्थानीय तह तथा समुदायसँग सहकार्य गरी योग शिविर, स्वास्थ्य शिक्षा, आयुर्वेदसम्बन्धी सचेतनामूलक कार्यक्रम र निःशुल्क स्वास्थ्य परीक्षण सञ्चालन गर्दै आइएको सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो ।

चिकित्सालयले आगामी दिनमा सेवा विस्तार, विशेषज्ञ जनशक्ति व्यवस्थापन, आधुनिक उपकरणको प्रयोग तथा आयुर्वेदिक उपचारलाई अझ प्रभावकारी र सहज बनाउने योजनासहित अघि बढिरहेको जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>