चितवन विशेष
भरतपुर अस्पतालको सेवा सुधारको माग गर्दै अखिल (क्रान्तिकारी) को ध्यानाकर्षण

चितवन, साउन २५—
भरतपुर अस्पतालमा उपचारका लागि आउने बिरामी तथा सेवाग्राहीले भोग्नुपरेको लामो लाइन, अत्यधिक भीडभाड तथा अव्यवस्थित सेवा प्रवाह तत्काल सुधार गर्न माग गर्दै अखिल (क्रान्तिकारी) जिल्ला समिति, चितवनले अस्पताल प्रशासनसमक्ष ध्यानाकर्षण पत्र बुझाएको छ।
देशको मध्यभागमा अवस्थित भरतपुर अस्पतालमा चितवनसहित आसपासका जिल्लाबाट दैनिक हजारौँ नागरिक स्वास्थ्य सेवा लिन आउने भए पनि टिकट, ओपीडी, प्रयोगशाला, फार्मेसी तथा रिपोर्ट वितरणलगायत सेवामा लामो समयसम्म लाइन बस्नुपर्ने र घण्टौँ कुर्नुपर्ने अवस्था रहेको भन्दै संगठनले गम्भीर ध्यानाकर्षण गराएको हो।
अखिल (क्रान्तिकारी) ले बिरामीले घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य गर्दै व्यवस्थित टोकन तथा लाइन व्यवस्थापन गर्न, सम्भव भएका सेवामा डिजिटल टिकट तथा अनलाइन दर्ता प्रणाली प्रभावकारी बनाउन र अस्पतालमा आवश्यक चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्था गर्न माग गरेको छ।
त्यस्तै, प्रयोगशाला, एक्स–रे तथा अल्ट्रासाउन्डलगायत निदानात्मक सेवामा हुने ढिलाइ अन्त्य गर्न, फार्मेसी तथा औषधि वितरण प्रणाली व्यवस्थित गर्न, आकस्मिक कक्षमा बिरामीलाई प्राथमिकताका आधारमा छिटो उपचार उपलब्ध गराउन तथा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र गर्भवती महिलालाई प्राथमिकताका साथ सेवा दिने व्यवस्था मिलाउन माग गरिएको छ।
अस्पतालमा उपलब्ध सेवा, शुल्क तथा प्रक्रियाबारे स्पष्ट सूचना उपलब्ध गराउन र बिरामी तथा सेवाग्राहीका गुनासा तत्काल सम्बोधन गर्न प्रभावकारी गुनासो सुनुवाइ संयन्त्र स्थापना गर्नसमेत संगठनले माग गरेको छ।
अखिल ९क्रान्तिकारी० जिल्ला समिति, चितवनका अध्यक्ष सुशील कार्की ‘अब्दुल’ ले अस्पतालमा आउने नागरिक उपचारका लागि आउने भएकाले सास्ती भोग्नुपर्ने अवस्था तत्काल अन्त्य गर्नुपर्ने बताए। उनले भरतपुर अस्पतालको सेवा प्रवाहलाई व्यवस्थित, गुणस्तरीय, सर्वसुलभ र नागरिकमैत्री बनाउन अस्पताल प्रशासनले तत्काल ठोस कदम चाल्नुपर्नेमा जोड दिए।

























