कृषि

पानी नपर्दा धनुषामा धान रोपाइँ प्रभावित

Banner

महेन्द्रनगर (धनुषा), साउन १ –

धनुषामा मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा धान रोपाइँ प्रभावित भएको छ । समयमै पानी नपरेपछि खेत चिरा पर्न थालेका छन् भने सिँचाइ सुविधा नभएका क्षेत्रका किसान धान रोप्न नपाएर चिन्तित बनेका छन् ।

असारको अन्त्यसम्म पनि पर्याप्त वर्षा नहुँदा अधिकांश किसानले तयार पारेको धानको बेर्ना खेतमै पहेँलिन थालेको छ । सिँचाइको सुविधा नभएका गाउँमा किसान आकासे पानीकै भरमा खेती गर्ने भएकाले यस वर्ष धान उत्पादन घट्ने चिन्ता बढेको छ ।

लक्ष्मीनियाँ गाउँपालिकाका किसान गोविन्द यादवले समयमै वर्षा नहुँदा रोपाइँ गर्न नसकेको बताउनुभयो । उहाँले धानको बेर्ना तयार भए पनि खेतमा पानी नभएकाले रोपाइँ रोकिएको र केही दिनभित्र वर्षा नभए बेर्ना नै नष्ट हुने अवस्थामा पुग्ने दुःखेसो गर्नुभयो ।

अर्का किसान रामजीवन साहले मोटरबाट सिँचाइ गर्दा इन्धन र विद्युत् खर्च धेरै हुने भएकाले सबै किसानका लागि यस्तो व्यवस्था सम्भव नहुने बताउनुहुन्छ । उहाँका अनुसार खेतीको लागत बढ्दै गएको छ भने उत्पादन घट्ने चिन्ताले किसान थप समस्यामा परेका छन् ।

किसान दुखरन यादवले हरेक वर्षझैँ यस वर्ष समयमै धान रोप्ने तयारी गरे पनि वर्षा नहुँदा खेत बाँझै रहने हो कि भन्ने चिन्ता व्यक्त गर्नुभयो । उहाँले धानखेती नै परिवारको मुख्य आयस्रोत भएकाले उत्पादन घटे आर्थिक समस्या हुने बताउनुभयो ।

लक्ष्मीनियाँ गाउँपालिकाकै किसान दुखरण मण्डलले आकासे पानीको अभावले अधिकांश किसान समस्यामा परेको बताउनुभयो । सरकारले सिँचाइ सुविधा विस्तार, कृषि विद्युतीकरण र किसानलाई राहत उपलब्ध गराउनुपर्ने उहाँको माग छ ।

जिल्लाका धेरै स्थानमा धान रोपाइँ हुन बाँकी छ । पर्याप्त वर्षा नभए यस वर्ष धान उत्पादनमा उल्लेख्य कमी आउन सक्ने उनीहरूको भनाइ छ । किसानले दीर्घकालीन सिँचाइको व्यवस्था, कृषि उपकरणमा सहुलियत र अन्य राहत कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गरेका छन् । यतिबेला जिल्लाका किसान आकाशतिर हेर्दै वर्षाको प्रतीक्षामा छन् ।

क्षिरेश्वरनाथ नगरपालिकाका किसान रामरूप दासले पनि आकासे पानी नपर्दा खेती गर्न निकै कठिन भएको बताउनुभयो । उहाँले मोटर र दमकलको सहायताले एक बिघा खेतमा धान रोप्न सफल भए पनि अझै तीन बिघा जमिनमा रोपाइँ गर्न बाँकी रहेको जानकारी दिनुभयो ।

“इन्धनको खर्च दिनप्रतिदिन बढिरहेको छ । मोटर र दमकल चलाएर सबै खेतमा सिँचाइ गर्न सम्भव छैन”, उहाँले भन्नुभयो, “अब केही दिनभित्र राम्रो वर्षा नभए बाँकी खेतमा धान रोप्नै सकिँदैन ।”

समयमै पर्याप्त वर्षा नभए धान उत्पादनमा उल्लेख्य कमी आउने र त्यसको असर किसानको आम्दानी तथा खाद्य सुरक्षामा पर्ने भन्दै उहाँले सरकारले तत्काल वैकल्पिक सिँचाइको व्यवस्था गरी किसानलाई आवश्यक राहत उपलब्ध गराउनुपर्ने माग गर्नुभयो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>